नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आजबाट शुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
बैठकमा पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सङ्गठन विस्तार, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, समसामयिक राजनीतिक विषयवस्तुलगायतका विषयमा आवश्यक रणनीति तयार गर्नेबारे छलफल हुने पार्टीका केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिईन्। “सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिता र राजनीतिक सङ्गठन प्रवद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने विषयमा समेत छलफल हुनेछ”, उनले भनिन् ।
नेकपा (एमाले) बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो । पार्टीको हालसम्ममा देशका ५५ जिल्लामा कार्यसमिति गठन भइसकेको छ । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, विस्तार र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेबारेमा समेत छलफल हुने बताइएको छ । कार्यसमितिमा हाल ११३ केन्द्रीय सदस्य छन् ।
अध्यक्ष नेपालको संयोजकत्वमा हालै स्थायी कमिटी, सचिवालय, प्रदेश इन्चार्ज र विभिन्न विभाग गठन गरिएको थियो । प्रदेश, जिल्ला र स्थानीय तहमा समेत भेला, बैठक गरी राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन् । युवा र विद्यार्थी सङ्गठन स्थापना गरिएका छन् भने प्रेस सङ्गठन घोषणाको क्रममा छ ।
अबैठकमा बोल्दै अध्यक्ष माधव नेपालले बाध्य भएर एमाले अध्यक्ष केपी ओलीसँग विद्रोह गर्नुपरेको बताएका छन् ।
साथै, उनले केपी ओली एमालेको नवौँ महाधिवेशनपछि पार्टीको सिद्धान्त र विचार छाडेर दक्षिणपन्थी भासमा भासिन पुगेपछि कम्युनिस्ट क्रान्तिकारी धारको निरन्तरताका लागि नयाँ पार्टी बनाएको बताए ।
काठमाडौँमा मंगलबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी कम्युनिस्ट क्रान्तिकारी धारको निरन्तरता भएको बताए । उनले विद्रोह गरेर जन्मिएको पार्टीले मात्र जनताको विश्वास जित्न सक्ने भन्दै आफ्नो नेतृत्वको पार्टीले जनताको विश्वास जितेरै छाड्ने बताए ।
‘कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी धारको निरन्तरता हो यो । विगतमा भएका कतिपय कमजोरीबाट हामी मुक्त हुन चाहन्छौ । नराम्रा कुराहरूलाई पन्छाउन चाहन्छौ’, नेता नेपालले भने, ‘देश, जनता र युवाको आवश्यकता तथा चाहाना अनुसार परिवर्तन गरेर हामी अघि बढ्न चाहन्छौ ।’