भदौ ३० बुटवल । लुम्बिनी प्रदेशकी सांसद विमला वलीले पूर्वमुख्यमन्त्री एवं एमाले नेता शंकर पोखरेल बिरुद्ध प्रहरीमा निवेदन दिएकी छन् । पोखरेल सहित चार जनाले आफूलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोप वलीले लगाएकी छन् । उनी एमालेकै सांसद थिईन् तर पछि माओवादीतिर प्रवेश गरेकी थिईन् ।
साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री भएका बेला दाङबाट ल्याएर बन्धक बनाएको आरोपसहित सांसद वलीले इलाका प्रहरी कार्यालय बुटवलमा सोमबार निवेदन दिएकी हुन् । तर बुटवल प्रहरीले घटनास्थल दाङ भएकोले त्यहींबाट निवेदनको प्रक्रिया अगाडि बढाउने बताएको छ । उक्त निवेदन अझै दागं नपुगेको स्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले वलीले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएको पुष्टि गर्दै बुटवलको साटो घटनास्थल दाङ प्रहरीमार्फत प्रक्रिया अगाडि बढाउन सुझाव दिएको बताए । ‘
निवेदनमा तत्कालीन मुख्यमन्त्री पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, तत्कालीन मुख्यमन्त्रीको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई अपहरण तथा शरीर बन्धक मुद्धामा कानुनअनुसार कारबाहीको माग गरिएको छ ।
यो आरोप पुष्टी भएमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने छ ।
वलीले पछि मुख्यमन्त्री कार्यलयमा पुगेपछि आफू एमालेमै रहेको वक्तव्य निकालेकी थिईन् । त्यसपछि पुनः माओवादीको सम्पर्कमा पुगेकी उनले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाईएको र भागेर आएको बताएकी थिईन् ।