काठमाडौं । नेपालले पपुवा न्युगिनी विरुद्धको दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ ।
शुक्रबार भएको दोस्रो खेलमा पीएनजीलाई १ सय ५१ रनले हराउँदै नेपालले सिरिज हात पारेको हो ।
पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटको जित निकालेको थियो । नेपालको यो एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक धेरै रन अन्तरको जित हो ।
यसअघि नेपालले २०१९ मा यूएईविरुद्ध १ सय ४५ रनको जित निकालेको थियो । नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर १ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीका लागि टोनी उराले सर्वाधिक १९ रन बनाए ।
नेपाली बलर चम्किएको खेलमा पीएनजीका चार्ल्स अमिनीले १६, नोर्मन भानुवाले १२ तथा सेसे बाउले ११ रन बनाए । गौडी टोका १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए । लेग स्पिनर सन्दीपले मात्र ११ रन खर्चिए ।
प्लेयर अफ दि म्याच बनेका सन्दीपको यो करियरकै उत्कृष्ट बलिङ हो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३३ रन बनाएको थियो ।
नेपालका लागि रोहित पौडेलले ८६ रनको अर्धशतकीय इनिङ्स खेले । रोहितलाई राम्रो साथ दिएका अलराउण्डर करण केसीले ४२ रन बनाए ।
ओपनर कुशल भुर्तेल र आरिफ शेख समान ३ रनमा आउट भएपछि दबाबमा आएको नेपालको इनिङ्स कप्तान ज्ञानेन्द्र मल्लले उकासेका थिए । उनले ४५ रन बनाए ।
बिनोद भण्डारी १७ रनमा रन आउट भए । कुशल मल्ल १ र सोमपाल कामी ११ रनमा आउट भए ।
पीएनजीका चाड सोपरले सर्वाधिक ३ विकेट लिए ।
यस्तै कबुआ मोरिया र नार्मन भनुवाले २र२ विकेट लिए । चार्ल्स अमिनीले १ विकेट लिए ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलेको हो ।
लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग भदौ २८ गते प्रतिस्पर्धा गर्नेछ ।
नेपालले दोस्रो खेलमा ओमानसँग भदौ २९ गते प्रतिस्पर्धा गर्नेछ ।
नेपालले तेस्रो खेलमा अमेरिकासँग असोज १ गते प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले आफ्नो अन्तिम खेलमा ओमानसँग सेप्टेम्बर असोज ३ गते खेल्नेछ ।
यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।