विराटनगर किंग्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा काठमाडौंले विराटनगरलाई नौ विकेटको फराकिलो अन्तरले हराएको हो। योसँगै काठमाडौंले अंक तालिकामा ४ अंक जोडेको छ।
पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको थियो। दोस्रो जित हात पारेपछि काठमाडौंसँगै विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिमको समान चार अंक पुगेको छ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनीको सात अंक छ भने तीन खेलमा हार व्यहोरेको पोखरा तालिकाको पुछारमा रहेको छ। त्यसैगरी चितवनको तीन अंक रहेको छ।
विराटनगरले दिएको ८४ रनको झिनो लक्ष्य काठमाडौंले ९.४ ओभरमा केवल एक विकेटको क्षतिमा भेट्टायो। दोस्रो विकेटका लागि डेविड वार्नर र विलियम वसिस्टोले ६९ रनको अविजित साझेदारी गरेपछि काठमाडौंले सहज जित निकालेको हो। वार्नर २४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनमा अविजित रहे भने वसिस्टोले २४ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाए। ओपनर साहिल पटेल १० रन बनाउँदा अपराजित पौडेलको बलमा बोल्ड आउट भए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमा अलआउट भएको थियो। जारी सिजनमा बनेको यो सर्वाधिक कम योगफल हो। यसअघि पहिलो खेलमा सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्सविरुद्ध ८७ रनमा अलआउट भएको थियो।
विराटनगर एक समय ९.४ ओभरमा ३५ रन जोड्दा ७ विकेट गुमाएर संकटपूर्ण अवस्थामा पुगेको थियो। लगातार विकेट पतनपछि सम्हालिन नसकेको विराटनगरका लागि आठौं विकेटका लागि एन्जेलो म्याथुज र रुपेश सिंहले ३९ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए। विराटनगरका लागि तीन ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके। रुपेश सिंहले सर्वाधिक २६ रन, एन्जेलो म्याथुजले २२ रन र बसिर अहमदले १० रन जोडे। यस्तै लोकेश बम ६, सेहान जयसूर्या ५ र आन्द्रे रसेल ३ रनमा पेभेलियन फर्के भने इमरान शेख, नारायण जोशी र शुभम रजाने शून्य रनमै आउट भए।
काठमाडौंका लागि सन्तोष यादवले तीन विकेट लिए भने करण केसी र सहानले समान दुई विकेट हात पारे। त्यस्तै जहानदाद खान, साहब आलम र देव शाहको नाममा समान एक-एक विकेट रह्यो।
बिहीबार नै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै लुम्बिनी लायन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा दिउँसो साढे १२ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्नेछन् भने साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।