काठमाडौँ । दक्षिण अफ्रिकी आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को डेब्यु खेलमै सानदार ब्याटिङ गरे तापनि कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय मैदानमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो।
कर्णालीका लागि डेभिड मिलरले एक छेउबाट टोलीको पारि सम्हाल्दै ५५ बलमा ५ चौका र ७ छक्काको मद्दतले अविजित ९३ रन बनाए। तर, अर्को छेउबाट अन्य ब्याटरहरूले उनलाई साथ दिन सकेनन्। विकेटकिपर दिपक डुम्रेले १८ रन (१२ बल, ३ चौका, १ छक्का) जोड्नु बाहेक कर्णालीका अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए भने हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्र सिंह ऐरी, थरिन्दु रत्नायके र अभिनाश बोहराको नाममा १-१ विकेट रह्यो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल तयार पारेको थियो। सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन (२४ बल, ४ चौका, १ छक्का) तथा विनोद भण्डारीले २७ रन (२२ बल, २ चौका, २ छक्का) जोड्दै पहिलो विकेटका लागि ६८ रनको बलियो साझेदारी गरे।
मध्यक्रममा ब्राण्डन म्याकमुलेनले २४ रन, इशान पाण्डेले २३ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले १० रन र आरिफ शेखले ११ रन जोडे। तल्लो क्रममा थरिन्दु रत्नायकेले अविजित २२ रन (१२ बल, ३ चौका, १ छक्का) र स्कट कुगेलेइनले अविजित १३ रन जोड्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए।
कर्णालीका लागि बलिङमा मार्क वाटले २ विकेट तथा नन्दन यादव, हुसेन तलत र सुर्य तामाङले १-१ विकेट लिए।
यस जितसँगै सुदूरपश्चिम रोयल्स ५ खेलमा ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अर्कातर्फ ४ खेलमा दोस्रो हार ब्यहोरेको कर्णाली याक्स ४ अंकसहित पाँचौँ स्थानमा झरेको छ।