काठमाडौं भदौ २५ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलसँग मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रीहरुको नाम दिन आग्रह गरेका छन् ।
आज बिहान बसेको गठबन्धनको बैठकमा देउवाले मन्त्रीपरिषद् विस्तारमा ढिला भएको भन्दै नाम दिनुस् भनेपछि अन्य दलका नेताहरुले आज नाम दिन सकेनन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीले दलहरुसँग मन्त्रीको नाम मागेको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिईन् ।
तर माओवादी, एकीकृत समाजवादी र जसपाले पार्टी भित्र टुंगो लगाएर छिट्टै नाम दिने भनेपछि गठबन्धनको बैठक साँझ फेरी बस्ने गरी सकिएको थियो ।
बैठकमा कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतको सहभागीता रहेको थियो । प्रधानमन्त्रीले मन्त्रीको नाम मागेपछि सत्तारुढ गठबन्धनको बैठक आज साँझ ६ बजे पुनः बस्ने भएको छ ।