विराटनगर भदौ २४। मोरङ जिल्ला अदालत परिसरभित्र न्यायधीश ईश्वर पराजुलीको गाडीले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश पराजुलीले प्रयोग गर्ने बा १४ च ६०१६ नम्बरको कार न्यायाधीशका अंगरक्षक विन्दकुमार सिंहले सिक्न खोज्दा अनियन्त्रीत भएर ठक्कर दिँदा ४२ वर्षीया लक्ष्मी दाहालको हिंजो साँझ मृत्यु भएको थियो । नेपाल प्रहरीका हवल्दार रहेका सिंहले कारको चालक चौधरीलाई चाबी मागेर पार्किङ गरेको कार निकाल्न खोज्दा दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ ।
दाहाल अदालत परिसरभित्र क्यान्टिन चलाउँदै आएकी थिइन् । कारले क्यान्टिनभित्र काम गरिरहेको अवस्थामा उनलाई ठक्कर दिएको थियो । ठक्कर दिँदा गम्भीर घाइते भएकी दाहालको उपचारका क्रममा साँझ ५ः१५ बजेतिर कोशी अस्पताल विराटनगरको आकस्मिक कक्षमा मृत्यु भएको हो । दाहाल धनकुटाकी हुन् ।
अदालत परिसरमै क्यान्टिन सञ्चालन गर्ने उनलाई पार्किङ गरेर राखेको ठाउँबाट निकाल्ने क्रममा अनियन्त्रित भएको कारले क्यान्टिनको घेराबारा तोड्दै क्यान्टिनभित्र छिरेको थियो । अनियन्त्रित बनेर भित्र छिरेको कारले क्यान्टिनमा काम सकेर खाजा खाँदै गरेको अवस्थामा दाहाललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिँदा प्रहरी हवल्दार सिंहले कार चलाएका थिए भने कारको साइडमा चालक चौधरी बसेका थिए ।
सिंह र चालक चौधरी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएर सवारी ज्यान मुद्धा चलाउने तयारी गरेको छ ।