साउन १५ मा भारतीय एसएसबीको अमानवीय ज्यादतीको पराकाष्टाको रुपमा दार्चुलाका जयसिंह धामी महाकालीमा वेपत्ता भए । उनी तुईन तर्दै गर्दा एसएसबीले काटिदिएपछि महाकालीमा खसेका धामीको अवस्था अहिले सम्म सरकारले पत्ता लगाउन सकेन । एसएसबीको उक्त ज्यादतीबारे स्थानीयवासी प्रत्यक्षदर्शी र घटनास्थल पुगेर प्रतिवेदन तयार पारियो । मुख्यगरी एसएसबीले गल्ती रहेको निष्कर्ष प्रतिवेदनमा रहेको भनिएको छ । तर सरकारले त्यो प्रतिवेदन अझै सार्वजनिक गर्न सकेन । केही दिन अघि लगातार भारतीय वायुसेनाको हेलिकप्टर नेपाली आकाशमा उडाईयो । दार्चुलाकै सदरमुकाम खंलगा र ब्यासको आकाशमा भारतीय हेलिकप्डरले नेपाली सेनाको ब्यारेकमाथिबाटै उडान भरिरह्यो ।
यी दुबै प्रकरणमा छिमेकी भारतसँग नेपाल अहिले सम्म चुईक्क बोल्न सकेको छैन । भारतलाई कुटनीतिक नोट या सोधखोज गर्न सकेको छैन । यही बीचमा भारतीय सत्तारुढ पार्टी बिजेपीका नेता आएर भेटवार्ता गरे प्रधानमन्त्रीदेखि दलका नेता सम्म तर कसैले आवाज उठाएको सार्वजनिक भएन ।
भारतीय विदेश मन्त्रालयले महाकाली तुईन प्रकरणमा मिडियामा सुनेको तर थाहा नभएको बतायो । नेपालको तर्फबाट प्रतिकृया बिहिन् । कालापानी, लिपुलेक, लिम्पियाधुरा अतिक्रमण गरेको भारतको पछिल्लो ज्यादतीबारे कुनै कदम चाल्न नसकेको सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययनका लागि छानविन समिति बनायो । सो सीमाका बारेमा यस अघिको सरकारले घटनास्थल पुगेर अध्ययन गरी सीमा विवाद नरहेको स्पष्ट पारेको थियो । जब सरकारले यस अघि नै सीमा विवाद समाधान भईसकेको भनेर स्पष्ट पारीसकेको बिषयमा अहिले सरकार फेरी तातियो किन ? यसले चीनसँग नभएको विवाद सृजना गर्ने तर भारतसँग भएका विवादबारे सरकार मौन बस्नुले देउवा सरकारमाथि गठन भएको सय दिन नपुग्दै चर्को आलोचना शुरु भएको छ ।