देउवाको नेतृत्वमा सरकार बनेको लामो समय वित्दा समेत मन्त्रीपरिषद् विस्तार हुन नसकेको भनेर आलोचना भईरहेका बेला शीर्ष नेताहरु अब यसै विषयमा केन्द्रीत भएका छन् । मन्त्रालयको संख्या मोटा मोटी टुंिगएको भए पनि मन्त्रालयको टुंगो नलागेका बेला यो छलफल भएको हो ।
संभवतः भोली सम्म मन्त्रीपरिषद् विस्तार गर्ने तयारी स्वरुप प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेलगायत समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेकपा (एमाले) फुटेर केही दिनअघि मात्र एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् । काँग्रेस सभापति देउवाले माओवादी केन्द्र, वरिष्ठ नेता नेपाल, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएका थिए । प्रधानमन्त्रीले लिनुभएको शपथका दिन नै काँग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्रीले पनि शपथ लिएका थिए । प्रधानमन्त्री देउवाले कांग्रेसका उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गरेका थिए । बाँकी २० मन्त्रालय देउवा आफैले चलाईरहेका छन् ।