नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब आफूले राजनीतिबाट छिट्टै विदा लिन मन लागेको बताएका छन् । वाईसिएल नेपालको राष्ट्रिय भेलालाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले अब राजनीतिमा नेतृत्वमा लामो समय बस्नु भन्दा पनि विश्राम लिएर संस्मरण लेख्न मन लागेको बताए ।
३८ सालमै आफू युवा संघको अध्यक्ष भए देखि नै विभिन्न नेतृत्वमा रहँदै अहिले सम्मको स्थिति देखे भोगेको भन्दै प्रचण्डले युवालाई समाजवादी क्रान्तिको नेतृत्व गर्न तयार हुन आव्हान गरे ।
यसैबीच एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै प्रचण्डले प्रधानमन्त्रीमा टिक्न ओलीले ठगी धन्दा गरेको आरोप लगाए ।
त्यही ठगी धन्दाको रुपमा पार्टी एकता गरेको, भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भनेको तर व्यवहारमा त्यसो नभएको प्रचण्डको आरोप छ ।
ओलीलाई प्रतिगमनका नाईकेको संज्ञा दिदै प्रचण्डले उनकै कारण नेकपाको एकता नटिकेको बताए ।
प्रतिगमनलाई परास्त गर्न पटक पटक जीवन मरणकै रुपमा संघर्ष गरेको भन्दै प्रचण्डले प्रतिगमन सच्चियो भनेर माधव नेपाल र आफूले लड्डु खान नपाई फेरी ड्याम्म घन हानिएको बताए ।
प्रचण्डले १५ लाख युवालाई संगठित गरेर उत्पादन र रोजगारीमा जोडेर अब परिवर्तनको रक्षामा वाईसिएल लाग्नु पर्ने पनि बताए ।
विज्ञान र प्रविधिको प्रयोग गरेर यो भेला गर्न सफल भएकोमा वाईसिएललाई उनले बधाई दिए ।