माधव नेपालले जीवन कालमै सबै भन्दा बढी दुखः गरेर हुर्काएको, नेतृत्व गरेको नेकपा एमालेबाट औपचारीक विद्रोहको चरण पुरा गरेका छन् । लामो अन्तरसंघर्ष, आलोचना, गाली गलौज र आरोप सहेका उनीमाथि एमाले भित्रै बसेर अन्तरसंघर्ष गर्न कम दबाब थिएन । तर उनले आफ्नो राजनीतिक अभ्यासलाई क्रम भंग गर्दै नयाँ पार्टी खोलेरै छाडेका छन् ।
अब उनी औपचारीक रुपमा नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष बनेका छन् । उनले आफ्ना अत्यन्त विस्वासीला र भरपर्दा दोस्रो पुस्ताका केही नेताको साथ नपाए पनि युवा जोश सहित तेस्रो पुस्ताका उल्लेख्य नेताहरुको साथ पाएका छन् । त्यसमा वरिष्ठ नेता झलनाथ खनालले अस्पतालको शैयाबाट पनि साथ दिईरहेका छन् ।
पार्टी गठनपछि अब माधव नेपालले चाल्ने तीन कदम देखिन्छ । पहिलो सरकारमा सहभागीता, दोस्रो पार्टी संगठन विस्तार र तेस्रो माओवादी केन्द्रसँग एकता गर्ने र ठूलो पार्टी बनाउने ।
स्रोतका अनुसार माधव नेपालकै सहयोगका कारण अहिलेको सरकार बन्न सफल भएको र त्यो सहयोगका कारण पार्टीबाट कार्बाही भोग्दै नयाँ पार्टी खोलेका कारण प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड माधव नेपाललाई चित्त बुझ्दो मन्त्रालय, अन्य राजनीतिक नियुक्तिहरु र प्रदेश प्रमुख एवं प्रदेशका मुख्यमन्त्री समेत दिन तयार छ । एक नेताको दाबी अनुसार वर्तमान सरकारमै पनि माधव नेपालका लागि माओवादीलाई जत्तिनै वा त्यो भन्दा एउटा जति बढी मन्त्रालय समेत दिने तयारी छ ।
माधव नेपालले पाउने पाँचदेखि ७ मन्त्रालय भित्र ओलीको साथ छाडेर आएका प्रेम आलेदेखि रामकुमारी झाँक्री सम्मलाई समेट्ने प्रयास गर्ने बताईएको छ । बुझिए अनुसार प्रेम आलेले आफूलाई पर्यटन मन्त्रालयमा निरन्तर दाबी प्रस्तुत गरिरहेका छन् । आगामी चार दिन भित्र प्रधानमन्त्रीले सरकार विस्तार गर्ने रणनीति बनाएको उच्च स्रोतको दाबी छ । यस अवधिमा माओवादीका तर्फबाट, एकीकृत समाजवादीका तर्फबाट, जसपाका तर्फबाट मन्त्रीहरुको नाम पनि पुग्ने र काँग्रेसबाट समेत नाम छनौट गरेर मन्त्रीपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री लागि परेको बुझिएको छ ।
त्यसपछि प्रदेश सरकारका हिशाबले पनि यदी अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई साथ नदिएको खण्डमा राजेन्द्र पाण्डेको संभावना छ भने प्रदेश एकमा भोजपुरका राजेन्द्र राई मुख्य मन्त्री बन्ने संभावना छ । दुबै प्रदेशमा माधव नेपाल पक्ष अब निर्णायक भूमिकामा छ ।
सरकारको मामला टुंग्याउने कसरत गर्दै गर्दा अब माधव नेपाल नयाँ पार्टी भएकाले संगठनको भेला सम्मेलन संगठन विस्तार जस्ता रणनीतिमा लाग्नेछन् । माधव नेपाल पक्षीय नेताहरुका अनुसार करीब ४० जिल्लामा एमाले हुँदा देखिकै नेतृत्व सम्हालेका नेताहरु भएकाले ७७ जिल्लामा संगठन विस्तार गर्न त्यति कठिन छैन । अखिल फोर्स र पिपल्स भोलन्टियर्स पुनर्गठन गरेर उसले एमालेको युथफोर्सलाई काउन्टर दिने यस अघि नै प्रयास गरिसकेको थियो ।
तेस्रो कदमका रुपमा माधव नेपालले अब प्रचण्डसँग पार्टी एकताको प्रयास थाल्ने छन् । यसको मुख्य उदेश्य ओली भन्दा शक्तिशाली पार्टीको नेतृत्व बन्ने माधव नेपालको चाहनापनि जोडिएको छ । पार्टी विभाजनपछि ५४ सालमा वामदेव गौतमले भोगेको नतिजा दोहोरीन नदिन माधव नेपालले आगामी केही समय भित्रै प्रचण्डसँग पार्टी एकता नभए कार्यगत एकताको सहमति गर्ने संभावना रहेको सांसद मेटमणि चौधरी बताउछन् । त्यस बाहेक पनि बाबुराम उपेन्द्रसँग समेत एकता वा कार्यगत एकताको प्रस्तावमा छलफल शुरु हुने देखिएको छ भने बैद्य देखि विप्लवसम्म पनि त्यस्तो कम्युनिष्ट मोर्चा वा गठबन्धनमा जोड्न कोशिस गर्ने माधव नेपालको तयारी देखिन्छ ।
यी सबै स्टेपबाट माधव नेपालले संविधान र संसदको रक्षा गर्ने, आगामी निर्वाचनमा ओलीलाई कमजोर पार्ने र आफू सके प्रधानमन्त्री नभए पनि शक्तिशाली पार्टीको नेतृत्व बन्ने माधव नेपालको अबको भित्र मनशाय रहेको जानकारहरु बताउछन् ।