एमाले एकताको संभावना तत्कालका लागि टरेको देखिन्छ । निर्वाचन आयोगमै माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रकृया शुरु भएको छ । यही बेला पनि अधिकाशं माधव नेपाललाई साथ दिँदै आएका दोस्रो पुस्ताका भनिएका नेताहरु एकताको पक्षमा भन्दै दिनुहँ छलफल र बैठक गरिरहेका छन् । तर त्यो परिणाम मुखी हुने संभावना देखिएको छैन ।
घनश्याम भुषाल लगायतका नेताहरुले १० बुदे सहमतिको पूर्ण कार्यन्वयन हुनु पर्ने, नेपाल सहित १४ सांसदमाथिको कार्बाही फिर्ता लिनु पर्ने लगायतका माग राखेपनि अब एमालेले त्यो मान्ने संभावना देखिएको छैन ।
अझ अध्यक्ष ओलीले त माधव नेपाल सहितको एमाले एकता संभव नभएको पटक पटक घोषणा गरीसकेका छन् र संस्थापन पक्ष अब माधव नेपाललाई लिने पक्षमा देखिँदैन । जबकि तेस्रो धारका भनिएकाहरु माधव नेपाल विनाको एकता संभवन नभएको भनिरहेका छन् ।
तेस्रो धारले मंगलबार सम्मको लागि दश बुदे सहमति कार्यन्वयन गर्न र पार्टी एकता जोगाउन भन्दै अध्यक्ष ओलीलाई अल्टिमेटम दिएको छ । एक नेताका अनुसार सो समयसम्म १० बुदे कार्यन्वयन नभए धेरै जसो तेस्रो धारका नेताहरु माधव नेपालतिर खुल्ने संभावना बढेको छ । त्यस मध्य केही थप एकताको पक्षमा वकालत गर्दै बस्ने र पछि एमालेमै रहने संभावना रहेको पनि ती नेताको दाबी छ ।
एमाले नेताहरु भने माधव नेपाल बाहिरिए पनि एमाले र सूर्य चिन्हका कारण पार्टीलाई खासै ठूलो हानी नहुने देख्छन् । ती नेताले भने ५४ सालमा वामदेवले पार्टी फुटाएर जानु भयो । राम्रै साथीहरु जानु भएको थियो । तर एउटा पनि सिट जित्न नसके पछि उहाँहरु फर्किनु भयो । माधव जीहरुको पनि हालत त्यस्तै हुन्छ ।
तर ५४ साल र अहिलेको स्थिति उही भने देखिँदैन । अहिले माधव नेपालले नेतृत्व गरेको पार्टी र माओवादी केन्द्र सहितको कम्युनिष्ट गठबन्धनको विकल्प, काँग्रेस, जसपा सहितको वाम लोकतान्त्रिक गठबन्धन कुनै पनि स्तरमा सहमति गरेर संविधान र लोकतन्त्र जोगाउन भन्दै मिलेर जाने संभावना छ । जसको असर एमालेलाई हुने वाम विष्लेषकहरुको बुझाई छ ।
अर्कोतिर गौतमले ५४ सालमा पार्टी विभाजन गर्दा महाकाली सन्धि गरेको बिषयलाई मुख्य हतियार बनाएका थिए । तर पनि उनी चुनावमा सफल हुन सकेनन् ।
वामदेवको आक्रामक भाषण गर्ने र उत्तारचढावपूर्ण धारणाहरु दिईरहने गरेको अहिले पनि देखिन्छ ।
त्यसको विपरीत माधव कुमार नेपाल शान्त र दृढ जस्तो देखिने तर व्यवहारमा योजनाबद्ध रुपले अघि बढ्ने प्रवृति देखिएको छ । त्यसो त एमालेको सबै भन्दा लामो कार्यकाल नेतृत्व गरेका माधव नेपाल पार्टीको प्रमुख भएरै लामो काम गरेकाले पनि उनीमाथिको पार्टी पक्तिको विस्वास गौतमको जस्तो मात्रै नहुने बुझाई कतिपयको छ ।