बुटवल, ६ भदौ । लुम्बिनी प्रदेशमा सांसद कारबाहीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको राजीनामा मागेको छ । आइतवार पत्रकार सम्मेलन नै गरी एमाले संसदीय दलले सभामुखको राजीनामा मागेको हो ।
एमालेले सांसद अजय शाही र विमला वली खत्रीलाई कारबाही गरेकोमा प्रदेशसभा सचिवालयले पदमुक्त गर्न नमिल्ने जवाफ दिएको थियो । त्यसलगत्तै एमाले संसदीय दलले पत्रकार सम्मेलन गरी सभामुखले संसदको मर्यादा हनन् गरेको भन्दै पदमा बस्ने नैतिकता नभएको बताएको हो ।
दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुख पूर्णबहादुर घर्ती दलको कार्यकर्ता भएर आफै न्यायाधीश बनेको आरोप लगाउदै ‘संसदीय अभ्यासमै नभएको हास्यास्पद र लज्जास्पद कदम चालेको बताए ।
उनले भने,‘संसदीय मर्यादाविपरीत काम गर्ने सभामुखलाई पदमा बसिरहन मिल्दैन ।’ ढकालले पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्यद्वय वली र शाहीले गत वैशाख १९ गते, जेठ १९ गते र जेठ ३० गते संसदीय दलको बैठकमा सहभागी भएको दाबी गरे । एमाले संसदीय दलको सदस्यका हैसियतले नै बैठकमा उनीहरु सहभागी भएको ढकालको जिकिर छ ।
एमालेले दुई सांसदलाई पदमुक्त भएको सूचना जारी नहुँदासम्म संसद बैठक अवरुद्ध गरिरहने जनाएको छ । सभामुखले यसअघि माओवादी केन्द्र र जसपाका सांसदलाई पत्र आएको २४ घण्टा नबित्नै पदमुक्त गरेको स्मरण गर्दै एमालेले आफ्नै नजिरलाई समेत सभामुख बिर्सेको जनाएको छ । एमालेले संसद अवरुद्ध गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
संसद सचिवालयले सरकारमा सहभागी एमालेका सांसद अजय शाहीलाई पदमुक्त गर्न नमिल्ने जवाफ दिएको थियो ।
सभामुख पूर्णबहादुर घर्तीको भूमिकामाथि प्रश्न उठाउँदै ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निज सभामुख आवद्ध नेकपा माओवादी केन्द्र पार्टीका प्रदेश सदस्यहरुलाई पार्टी केन्द्रले निष्काशन गरेको जानकारी प्रदेशसभालाई २४ घण्टाभित्र सूचना टाँसी सार्वजनिक गर्ने सभामुखले नेकपा एमाले संसदीय दलले गरेको कारवाहीलाई उल्टै न्यायाधीशले जस्तै फैसला गरी सदनमा जानकारी गराउन नपर्ने भन्ने निर्णय विधिको शासन विपरीत, पक्षपातपूर्ण र संसदीय मूल्यमान्यता विपरीत छ ।’
ढकालले सभामुख घर्तीले राजीनामा दिनुपर्ने पनि जनाएका छन् । ‘प्रचलित कानुन, तथ्य, संसदीय मूल्य मान्यतालगायत कुनै कुराले पनि यो क्षेत्राधिकार माननीय सभामुखलाई नदिएकाले स्वतः पद अनुकुलको आचरण नगरेको प्रस्ट हुन्छ र नैतिकताका आधारमा निज सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने देखिँदैन,’ ढकालले विज्ञप्तिमा भनेका छन् । उनले विमला कुमारी खत्री वली र अजय शाहीलाई प्रदेशसभा सदस्यबाट निष्काशन नगर्दासम्म एमालेले अघि बढाएको संसद अवरुद्ध गर्ने आन्दोलन जारी रहने चेतावनीसमेत दिएका छन् ।