बुटवल, ६ भदौ । नेकपा एमालेले कारबाही गरेका सांसद अजय शाही र विमला वली पदमुक्त नहुने भएका छन् । लुम्बिनी प्रदेशसभा सचिवालयले आइतबार एमालेलाई पत्र लेखेर सूर्य चिह्नबाट चुनाव लडेका शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको हो ।
एमालेले शाही र वलीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पदमुक्त गर्न भदौ १ गते प्रदेश सभामुखलाई पदमुक्त गर्न पत्र बुझाएको थियो । त्यसयता एमालेले नियमित प्रदेशसभा अवरुद्ध गर्दै आएको थियो ।
एमालेले संविधानको दफा ३४ अनुसार एमाले संसदीय दलको सदस्यको हैसियतमा उनीहरुलाई कारबाही गर्दै पदमुक्त गर्न माग गरेको थियो । यद्यपि सभामुखले दफा ३४ अनुसार उनीहरु एमाले संसदीय दलको सदस्य नठहरिएको निर्णय गरेका छन् । उक्त निर्णय एमालेलाई पत्राचार गरेर जनाकारी गराइएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले बताए । उनीहरुले प्रदेशसभामा भरेको विवरणमा एमाले संसदीय दलको सदस्य नदेखिएकाले त्यसअनुसार कारबाही गर्न नमिलेको उनले दाबी गरे ।
एमालेले प्रदेशसभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम थिएन । प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केद्रमा आबद्ध रहेको विवरण प्रदेशसभा सचिवालयमा बुझाएका थिए । शाही हृदयेश त्रिपाठीको समूहबाट नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र–१ को २ बाट निर्वाचित हुन् भने ओली नेकपा पार्टीमा भएका बेला उपनिर्वाचनमा दाङको निर्वाचन क्षेत्र–३ को २ बाट निर्वाचित हुन् ।