एमाले विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधि पनि विभाजित हुने क्रम बढेको छ । यसै क्रममा देशभर मध्य प्रदेश २ मा एमाले संस्थापन पक्ष कमजोर रहेको देखिएको छ । सो प्रदेशमा माधव नेपालको एमाले समाजवादी बलियो बनेको छ । अन्य प्रदेशमा एमाले हावी छ भने सुदुरपश्चिम प्रदेशमा भीम रावलले निर्णय नगर्दा सम्म टुंगो लाग्ने स्थिति छैन ।
एमालेका सांसदहरूमध्ये १३ जना नेपाल पक्षमा खुलेको र ८ जनामात्रै एमालेमा रहेका देखिएका छन्।
शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा, सीता गुरुङ एमाले समाजवादीमा खुलेका हुन्।
बहुमत सांसदहरूले नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेसँगै उनीहरू सरकारमा पनि सहभागी हुने संभावना छ ।
निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिइसकेपछि संघ र प्रदेश सरकारमा सहभागी हुन प्याकेजमै सहमति हुने एक नेताले जानकारी दिए । वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि र कानुन न्याय तथा प्रदेश सभा मन्त्रालय मुख्यमन्त्री राउतले आफ्नो मातहत राखेका हुन्। यी दुबै मन्त्रालय दिएर एमाले समाजवादी पार्टीलाई सरकारमा ल्याउने बताईएको छ ।