निर्वाचन आयोगको दल दर्ता सम्बन्धि नयाँ नियमाली अनुसार ३३ प्रतिशत महिला केन्द्रीय समितिमा अनिवार्य हुनु पर्ने व्यवस्था गरिएको छ । जस अनुसार माधव नेपाल नेतृत्वको एमाले समाजवादी र महन्थ ठाकुर नेतृत्वमा जसपा लोकतान्त्रिकमा महिलाको संख्या अपुग हुने देखिएको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन नियमावली, २०७८’ जारी गरेको छ।
यस नयाँ नियमावलीमा कुनै पनि दल दर्ता गर्दा प्रस्तावित केन्द्रीय समितिमा ३३ प्रतिशत महिला अनिवार्य हुनु पर्ने उल्लेख गरिएको छ ।
त्यस बमोजिम हेर्दा माधव नेपाल नेतृत्वको एमाले समाजवादीमा ९५ केन्द्रीय समिति प्रस्ताव गरिएको र त्यसमा ३१ जना मात्र महिला छन् । त्यो प्रतिशत भनेको ३२.६ प्रतिशत मात्र हुन्छ । माधव नेपालले नयाँ पार्टीको प्रमाण पत्र लिन कम्तीमा एक महिला केन्द्रीय सदस्य थप गर्नु पर्ने देखिन्छ ।
त्यस्तै जसपा लोकतान्त्रिकको २४ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ । जसमा ४ जना मात्रै महिला सदस्यको नाम दिईएको छ । त्यो भनेको १६ प्रतिशत बढी मात्रै हुन आँउछ । त्याहाँ ३३ प्रतिशत महिलाको संख्या पुर्याउन थप ४ जना महिला केन्द्रीय सदस्य अनिवार्य देखिन्छ ।
कुनै पनि पार्टीले नयाँ दल दर्ताको लागि निवेदन दिदाँ कम्तीमा २१ जना केन्द्रीय कमिटि हुनु पर्ने, ३३ प्रतिशत महिला अनिवार्य हुनु पर्ने, विधान, घोषणा पत्र, नियमावली, केन्द्रीय सदस्य र पदाधीकारीको नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, झण्डा, लोगो र चुनाव चिन्ह आदि अनिवार्य गरिएको छ ।
सरकारले जारी गरेको पछिल्लो अध्यादेश अनुसार यो नियमावली संसोधन गरी राजपत्रमा प्रकाशित गरिएको छ ।