काठमाडौँ, २ भदौ । माधव नेपाल नेतृत्वको प्रस्तावित एमाले (समाजवादी) पार्टीका नेता राजेन्द्र पाण्डेले दल दर्ता स्वीकृत भएपछि आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।
नयाँ दल दर्ताका लागि निवेदन दिएपछि आज निर्वाचन आयोगबाट बाहिरिँदै नेता पाण्डेले दल दर्ता स्वीकृत हुने बित्तिकै आफूहरु सरकारमा सहभागी हुने बताएका हुन् ।
उनले दल दर्ता स्वीकृत भएपछि सरकारमा जाने स्पष्ट पारे । आज अध्यादेश जारी भएपछि परिस्थिती हेरेर हामी नयाँ दल दर्ता गर्न आएका उनले थपे ।
दल दर्ता भएपछि चाँडै नै राष्ट्रिय भेला गर्ने तयारी समेत सो पार्टीले गरेको छ । एमालेका ५८ जना केन्द्रीय सदस्यहरु मिलेर नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको पाण्डेले बताए । प्रस्तावित नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिएको छ ।
आफूहरुसँग एमालेका उपाध्यक्ष वामदेव गौतम पनि आउने उनको दाबी छ ।