काठमाडौँ, २ भदौ । नेकपा एमालेबाट अलग्गिएर नयाँ दल गठनगरेसँगै माधवकुमार नेपाललाई लामो समयदेखि साथ दिँदै आएका एमालेका दोस्रो तहका नेताहरुले साथ छाडेका छन् । निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता गराउन गएका नेता नेपालसँग एमालेमा स्थायी कमिटीका सदस्य रहेका मुकुन्द न्यौपाने मात्रै गएका थिए ।
एमाले सांसद दीपकप्रकाश भट्टका अनुसार कार्यदलका सदस्य रहेका कुनै पनि नेताहरु नयाँ दल गठनमा गएका छैनन् । एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन गरेको कार्यदलमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उप–महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका थिए ।
नेता बेदुराम भुसाल भने नयाँ दल दर्तामा सहभागी रहेका छन् । सरकारले राजनीतिक दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्यहरुले मात्रै पुग्ने व्यवस्था सहितको अध्यादेश ल्याएपछि नेता नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ता गरेका छन् ।
माधव नेपाल समूहले ९८ केन्द्रीय सदस्य सहितको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेको हो । नेकपा एमाले समाजवादी नामको नयाँ पार्टीको चुनाव चिन्ह खुला किताब रहेको बताइएको छ ।
नयाँ पार्टीमा माधव नेपाल अध्यक्ष छन् भने झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहनेछन् । साथै संघीय संसदका ३१ सांसद एमाले समाजवादीमा रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
नेपालको नयाँ पार्टीमा युवराज ज्ञवाली, राजेन्द्र पाण्डे, विरोध खतिवडा, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ लगायत नेताहरु छन् ।