अहिले वानेश्वरको अर्याल होटलमा माधव समुहका सांसद र केन्द्रीय सदस्यहरु जुटेका छन् । संभवतः अध्यादेश बेलैमा जारी भएमा आज सो समुह नयाँ दल दर्ता गर्न निर्वाचन आयोग जाने संभावना बढेको एक केन्द्रीय सदस्यले दाबी गरे ।
अब ओली ईमान्दार नदेखिएको र एमालेमा बस्नुको औचित्य नरहेको माधव नेपालले आजै ब्रिफिङ गरेका थिए । अध्यादेशमा संसदीय दल वा पार्टी केन्द्रीय समितिको २० प्रतिशत संख्या भए पार्टी विभाजन गर्न सकिने गरी अध्यादेश सिफारीस भएको छ । यो अध्यादेश राष्ट्रपतिले अहिले सम्म जारी गरेकी छैनन् ।
प्रधानमन्त्री देउवा राष्ट्रपति निवास पुगेर अध्यादेश जारी गर्न अनुरोध गरेका छन् ।
यस्तो स्थितिमा अध्यादेश आए सबै भन्दा पहिला एमाले विभाजन हुने खतरा बढेको छ ।
माधव नेपालसँग प्रतिनिधि सभा र राष्ट्रिय सभा गरेर ३४ जना सांसद र ६० जना हाराहारी केन्द्रीय सदस्य रहेको बताईएको छ । निर्वाचन आयोगको साविकको विवरण अनुसार नेपाल समुहलाई ४१ जना केन्द्रीय सदस्य भए पार्टी विभाजन गर्न सहज हुनेछ ।
विभाजन रोक्ने उदेश्यले ओली पक्षले आजै निर्वाचन आयोगमा २६० जना केन्द्रीय सदस्यको विवरण पेश गरेको छ । आयोगले त्यसलाई अध्यावधिक गरीसकेको छैन ।
यसैबीच, एमाले उपाध्यक्ष रहेका वामदेव गौतमले समेत अब माधव नेपाललाई साथ दिने सो समुहको दाबी छ । गौतम आज ओली पक्षको स्थायी समितिको बैठकमा उपस्थित भएका थिएनन् । गौतमकी श्रीमती तुलसा थापा अहिले सांसद छिन् । उनले आज नेपाल समुहको भेलामा गएर हस्ताक्षर गरेको एक सांसदको दाबी छ ।
अध्यादेश जारी भए लगत्तै नयाँ दल दर्ताका लागि आयोगतिर जान तयारी अवस्थामा रहेको एक सांसदले दाबी गरे । आजको छलफलमा कतिपय नेताहरुले माधव नेपाल र केपी ओलीबीच छलफल हुनु पर्ने र पार्टी विभाजन हुन नहुने सुझाव पनि राखेका थिए । स्रोतका अनुसार पार्टी विभाजनको पक्षमा भीम रावल, सुरेन्द्र पाण्डे , योगेश भट्टराई लगायतका नेता नरहे पनि केन्द्रीय सदस्यको स्तरबाट पनि अब विकल्पमा जान दबाब बढेको छ ।