बुटवल, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएका छन्। प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल हुनुभन्दा अगाडि नै पोख्रेलले राजीनामा दिएको एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए ।
मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताप आज प्रदेश सभामा छलफल हुने कार्यसूची छ । उनीविरुद्ध अविश्वासको प्रस्ताव यही साउन १९ गते प्रदेशसभामा दर्ता भएको थियो।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, सभामुख पूर्णबहादुर घर्तीसमेत गरी नेकपा माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टीका तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन्। उता सरकारको समर्थनमा नेकपा एमालेका ३९ प्रदेशसभा सदस्य छन्।
विपक्षी गठबन्धन र एमाले विशेष अधिवेशनमा आफ्नो रणनीति बनाउन बिहानैदेखि छलफलमा व्यस्त थिए। ८७ सदस्यीय रहेको लुम्बिनी प्रदेशसभामा हाल ८० प्रदेशसभा सदस्य रहेका छन्।
मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए।
प्रदेश सरकार गठन हुँदा २०७४ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादीको समर्थनमा सरकार बने पनि २०७५ जेठ ३ गते एमाले र माओवादी एकीकरण भई नेकपा बनेपछि संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त सरकार बनेको थियो।