एजेन्सी । चर्चित अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोना छाड्नै पर्ने भएको छ ।
क्याटलन फुटबल क्लबले एक विज्ञप्ती जारी गर्दै मेस्सीसँग नयाँ सम्झौताको लागि क्लबको वित्तिय तथा संरचनागत बाधा उत्पन्न भएको भन्दै मेसीलाई नराख्ने जनाएको छ ।
गत जुलाई १ तारिखमा बार्सिलोनासँगको करार सम्झौता सकिएका मेस्सी फ्रि एजेन्टको रुपमा रहेका छन् ।
मेस्सीले हाल पाउदै आएको तलव एवं अन्य सुविधामा आधा कटौती गरेर उनी क्लबमै रहने बताईएको थियो । तर अहिले मेस्सीसँग नयाँ सम्झौताको लागि विभिन्न कठिनाई आएको क्लबको भनाई छ ।
खासगरी स्पेनिस लिग फुटबल ला लिगाको व्यवस्थाको कारण मेस्सीसँग सम्झौता हुन नसकेको बार्सिलोनाले जनाएको छ ।
मेस्सीको सम्झौता अप्ठ्यारोमा परेपछि युरोपका अन्य चर्चित क्लबहरुले उनलाई आफ्नो क्लबमा भित्र्याउने प्रयास सुरु गरेका छन् ।
फ्रान्सको पेरिस सेन्ट जर्मेन र इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले लामो समयदेखि मेस्सीलाई आफ्नो क्लबमा भित्र्याउने इच्छा देखाएका छन् ।
उनी १३ वर्षको उमेरदेखि सन् २००० बाट बार्सिलोनामा आवद्ध भएका थिए ।