काठमाडौँ साउन १८ । एमाले प्रवेश गरेका चार पूर्वमाओवादी सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चले अस्वीकार गरेको छ । उनीहरु आफूहरु माओवादीमै रहेको भन्दै अदालतमा निवेदन दिएका थिए । एमाले स्थायी कमिटी सदस्यद्वय लेखराज भट्ट र टोपबहादुर रायमाझी एवं केन्द्रीय सदस्यद्वय प्रभु साह र गौरीशंकर चौधरीले माओवादीले दल त्याग कानुन बमोजिम आफूहरूमाथि गरको कारबाही कानुन विपरीत भएको दाबी गर्दै बदरको माग राखी सर्वोच्चमा रिट दायर गरेका थिए ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले चार नेताको रिटमा सोमबार सुनुवाइ गर्दै सांसद पदबाट मुक्त गर्ने माओवादीको निर्णय बदरको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
चारैजनाले आफूहरूलाई माओवादीले स्पष्टिकरणको मौकासम्म नदिई कारबाही गरिएको र केन्द्रीय कमिटीले गर्नुपर्ने कारबाही अध्यक्ष पुष्पकमल दाहालले प्रत्यायोजित अधिकार भनेर गरेको भन्दै रिट दायर गरेका थिए ।
चार नेताको मागबमोजिम आदेश जारी गर्नुपर्ने हो कि होइन भनेर विपक्षी माओवादी केन्द्रका अध्यक्ष दाहाललगायतलाई आधार र कारणसहित बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश जारी गरिएको छ ।
सर्वोच्चको यो आदेशसँगै चारैजना नेताले चाहे जसरी सांसद पद पुनर्बहाली नहुने भएको छ ।