बिरगंज १४ साउन । बिरगंजमा झुठो विवरण पेश गरी र नक्कली बाबु र छोरी बनी नेपाली नागरिकता लिने अभियोगमा संलग्न दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्साबाट पक्राउ पर्नेमा भारत घर भइ हाल पर्साको बहुदरमाइ नगरपालिका २ बस्ने २८ वर्षीया सीता पटेल र बहुदरमाइ नगरपालिका २ कै ५१ वर्षीय धुरुपप्रसाद पटेल रहेका छन् ।
भारतीय नागरिक सीता पटेलले जिल्ला प्रशासन कार्यालय पर्सामा झुठो विवरण पेश गरी कविता कुमारी पटेलको नामबाट २०७० साल पुष ११ गते नेपाली नागरिकताको प्रमाण पत्र लिएकी थिइन् ।
नागरिकता बनाउने बेला धुरुप पटेलले सीतालाई आफ्नो छोरी कविता पटेल भनेर सनाखत गरेका थिए । भारतीय नागरिक सीताले झुठो विवरण पेश गरि नागरिकता लिएको भनेर उजुरी परेपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधबार बिहान १० बजे वीरगञ्ज–१३ श्रीपुरबाट सीता पटेललाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले नियन्त्रणमा लिएर सिताको ब्याग खानतलाशी गर्दा जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७० पुष ११ गते जारी भएको नागरिकता प्राप्त नंबर ३४–०१–७०–१०३५२ को नागरिकता बरामद भएको हो ।
उक्त नागरिकतामा धुरुप प्रसाद पटेलको छोरी कविता कुमारी भन्ने विवरण उल्लेख छ । प्रहरीले सीताबाट बरामद भएको नागरिकतबारे अुसन्धान गर्दा झुठो विवरण पेश गरेको पुष्टि भएपछि नागरिकता बनाउन नक्कली बुबा भनेर सनखात गरेका धुरुपलाइ पनि बुधबार नै नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
दुवैजनालाई नागरिकता सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको खनालले बताए ।