काठमाडौं । तात्कालिन संघीय समाजवादी र राजपाबीच मिलेर बनेको जसपा एक वर्ष भित्रै नयाँ मोडमा पुगेको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिए पछि पूर्व राजपाका महन्त ठाकुर पक्ष संकटमा फसेको छ ।
सोमबार केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर सनाखतपछि आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । सनाखतका क्रममा उपेन्द्रको पक्षमा ३४ र महन्थको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए । अर्का एक सदस्य रेशम चौधरी भने तटस्थ रहे ।
नयाँ पार्टी दर्ता गर्ने हो भने रीत पुर्याएर निवेदनसहित आउन महन्थ ठाकुर पक्षलाई आदेश भएको छ । तर रित अनुसार दलको ४० प्रतिशत केन्द्रीय कमिटि र सांसद मध्य एक हुनु पर्नेमा दुबै नभएकाले ठाकुर दल बिहीन बन्न पुगेका हुन् । अब ठाकुरले उपेन्द्र यादवको नेतृत्व स्वीकारेर रहन सक्ने विकल्प रहेको छ । तर त्यसबारे ठाकुर पक्ष निष्कर्षमा पुगिसकेको छैन ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा। जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको इजलासले उक्त निर्णय गरेको हो ।
उपेन्द्र यादवले दलको लेटरप्याड, चुनाव चिह्न, हस्ताक्षर आदिको दुरुपयोग हुँदा पार्टी सञ्चालन गर्न समस्या भएको भन्दै दलको आधिकारिकता पाऊँ भन्दै आयोगमा निवेदन दिएका थिए ।