काठमाडौं, १० साउन । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक आज बस्दैछ ।
मध्यान्ह १२ बजेपछि महामन्त्री शशांक कोइराला निवासमा बैठक बस्न लागेको पौडेलको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा क्रियासिल सदस्यता छानबिन र महाधिवेशन कार्यतालिकाको विाषयमा छलफल हुनेछ ।
कांग्रेसको शनिवार बसेको पदाधिकारी बैठकले कांग्रेसको तल्लो तहको अधिवेशन स्थगित गरेको थियो । वडा तहको अधिवेशन नै स्थगित भएपछि आज पौडेल समूहको बैठक बस्न लागेको हो ।
पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको शनिबार बसेको बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय लिएपछि त्यसको असर केन्द्रीय महाधिवेशनसम्म पर्न सक्ने देखिएको छ । साउन १२ देखि पार्टीका स्थानीय तहका अधिवेशन सुरु गर्ने तालिका थियो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने महाधिवेशन सार्ने पक्षमा देखिएका छैनन् । हाल राष्ट्रिय राजनीति आफूले अगुवाइ गरेको एजेन्डाअनुरूप अघि बढेको र सरकारको नेतृत्वसमेत गरिरहेका कारण उनलाई महाधिवेशन गराउनेअनुकूल वातावरण पनि छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ १९ भित्र केन्द्रीय महाधिवेशन हुन नसके पार्टीको वैधानिक हैसियत जोखिममा पर्ने बताएका छन् ।
आगामी भदौ १९ भित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यतामा रहेको कांग्रेसको महाधिवेशन तालिका प्रभावित हुने सम्भावना बढेको छ । नेतृत्वले औपचारिक रूपमा नभने पनि दोस्रो तहका नेताहरू भदौ १६–१९ को मितिमा महाधिवेशन हुन सकेन भने के गर्ने भन्दै विकल्प खोज्नतिर लागेका छन् ।