टोकियो ओलम्पिक: कल्पनाको राष्ट्रिय कीर्तिमान, जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित

टोकियो ओलम्पिक: कल्पनाको राष्ट्रिय कीर्तिमान, जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित

  • शनिबार, साउन ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, ९ साउन ।  जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।

परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । सो क्रममा उहाँले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोड्नुभयो ।

परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ६१४ दशमलव पाँच अङ्क बनाउनुभएको थियो । त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । परियार सागमा चौथो हुनुभएको थियो । उहाँ टोकियो ओलम्पिकमा छनोट चरणमा ५० खेलाडीमध्ये ४६औँ स्थानमा रहनुका साथै प्रतियोगिताबाट बाहिरिनुभएको छ ।

परियारले प्रतिस्पर्धा गरेको समूहबाट आठ खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उहाँ वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट हुनुभएको हो । सो समूहमा नर्वेकी खेलाडी ६३२ दशमलव नौ अङ्कका साथ पहिलो, कोरियन खेलाडी ६३१ दशमलव सात अङ्कसहित दोस्रो तथा अमेरिकी खेलाडी ६३१ दशमलव चार अङ्कका साथ तेस्रो हुनुभयो ।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी तथा जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्न बाँकी नै छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । टोकियो ओलम्पिक यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।

जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित हुनुभएको छ ।

केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुपरेको हो । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहनुभएको छ । भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय बेहोर्नुपरेको हो ।

भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६ सेकेण्डसम्म मात्र भिड्न सक्नुभयो । उहाँ वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट हुनुभएको हो । भट्टले २०७६ मङ्सिरमा नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा महिला ४८ किलोमुनिको तौलमा कास्य पदक प्राप्त गर्नुभएको थियो ।

आजै भएको सुटिङ स्पर्धामा नेपालकी कल्पना परियारले पनि पराजय बेहोर्नुपरेको थियो । टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल र चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ