नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै बादशाहलाई घोडाबाट झार्न सफल भएको र साउन ३ मा षड्यन्त्र असफल पारेको दाबी गरेका छन् ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले राजामहाराजाको शैली देखाइरहेको दाबी गरे । माधव पक्षीय नेता जगन्नाथ खतिवडा नेतृत्वको पुष्पलाल मित्रता केन्द्रले शुक्रबार ललितपुरमा गरेको प्रवचन कार्यक्रममा उनी बोल्दै थिए ।
राजा महाराजाको शैलीमा आफुहरुलाई आम माफीको घोषणा गरेको भन्दै नेता नेपालले कटाक्ष गरेका हुन् ।
आफूले एकता होस् भनेर संयमताका साथ मिठो मिठो बोलिरहेपनि उताबाट ( ओलीबाट ) राजा महाराजाको शैलीमा घोषणा हुने गरेको उनको जिकिर छ ।
उनले आफूलाई डरत्रास देखाउन ओली पक्षले घर घेर्न मान्छे पठाएको दाबी गर्दै आफ्नो घर वरिपरि मारमुङग्रेहरु बसेका थिए , म बिशेष धातुले बनेको मान्छे हुँ , यस्तासँग डराउदिन नेपालले भने ।
ओली अझै पनि नसुध्रिएको अहंकारी प्रवृति बाँकी रहेको र आफूले संविधान र लोकतन्त्रको रक्षाका लागि कदम चालेको पनि दाबी गरे ।