एमाले अध्यक्ष केपी ओलीले बालुवाटारबाट विदा भएर जुलुश लगाउदै निजी घर पुगेर बार्दलीबाट समर्थकहरुलाई संवोधन गर्दै माधव नेपाल राष्ट्रिय गद्धार हुन्, कम्युनिष्ट आन्दोलनका गद्धार हुन् , अब उनलाई एमालेमा कुनै ठाँउ छैन । यो असार ३० गतेको घटना थियो । ओली समर्थकले माकुनेलाई फाँसी दे भन्दै उनको पुत्ला पनि जलाए ।
तर माधव नेपाल गलेनन् बरु ओलीको नेतृत्वमा बसेको बैठकले प्रधानमन्त्री शेर बहादुर देउवालाई विस्वासको मत नदिने भनी गरेको निर्णयलाई क्रस गर्दै २२ सांसदलाई देउवाको पक्षमा मत हाल्न लगाए ।
ओली र उनका समर्थकको आक्रामक व्यवहारका बीच मौन रुपले कदम चालेका नेपालले ओली पक्षलाई काउन्टर दिन युथफोर्सको टक्करका लागि अखिल फोर्स र पिपल्स भोलन्टियर सम्मको घोषणा गराए ।
यसबीच, आजै ओलीले तीनै उनको भाषाका गद्धार माधव नेपाललाई आममाफी दिएको घोषणा गरे । तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यलयमा बसेको बैठकमा ओलीले २२ सांसदलाई आममाफी दिएको घोषणा गरे ।
यसलाई एमालेलाई एकतावद्ध राख्ने प्रयासको रुपमा हेरिएको छ । तर एकता हुने नहुने अझै निश्चित भने भईसकेको देखिँदैन ।