७ साउन, विराटनगर । नेकपा एमाले मोरङले आज उर्लाबारी नगर कमिटीको विस्तारित बैठक आह्वान गरेको थियो । तर बैठक सुरु हुनु अगावै एक समूहले बैठकस्थलमा नै तोडफोड गरेको छ । उर्लाबारी नगरपालिका–८ स्थित एभरेष्ट फनपार्कमा हुने दिउसो १ बजे सुरु हुने भनिएको बैठक स्थलमा आज बिहान साढे ११ बजेतिर तोडफोड भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली (संस्थापन) पक्षले नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्नका लागि भनेर बैठकको आह्वान गरेको थियो ।
तर बैठक बस्नुअघि नै आएको एउटा समूहले तोडफोड र हुलदंगा मच्चाएको एमाले उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए । उनका अनुसार बैठकस्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसामा क्षति पुर्याइएको छ । बैठक विथोल्ने प्रयास स्वरूप तोडफोड गरिएको गौतमको भनाइ छ ।
एमाले संस्थापन पक्षले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले तोडफोड गरेको आरोप लगाएको छ । तर नेपाल समूहका उर्लाबारी अध्यक्ष गंगा बास्तोलाले घटनामा संलग्नता अस्वीकार गरेका छन् । नेपाल समूहको उक्त घटनामा कुनै संलग्नता नरहेको उनले बताएका छन् ।
बैठकस्थलको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काको नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
तोडफोडपछि आन्तरिक व्यवस्थापन मिलाएर बैठक सञ्चालन भएको थियो । एमाले मोरङ अध्यक्ष ऋषिकेश पोख्रेलले आफुहरुबैठकस्थल पुग्दा तोडफेड भएको नदेखेको बताए । बैठकले सदस्यता नविकरण गर्ने लगायतका निर्णय गरेको छ ।
तर बैठकमा नेपाल समूहका कोही पनि उपस्थित भएनन् । एमालेको केन्द्रमा देखिएको आन्तरिक विवाद समाधान नहुँदा त्यसको असर तलैसम्म पुगेर पार्टीभित्रको अवस्था तनावग्रस्त बनेको बताइएको छ । उर्लाबारीमा भएको यस घटनालाई पनि एमालेभित्र केन्द्रमा देखिएको धु्रवीकरणको असरका रूपमा लिइएको छ । केन्द्रमा देखिएजस्तै पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षले आ(आफ्नो ढंगबाट मोरङमा गतिविधी सञ्चालन गरिरहेका हुन् ।