काठमाडौं । पार्टी भित्र असन्तुष्टी जनाउदै नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्।
पार्टीको क्रियाशील सदस्यामाथि भएको छानबिनप्रति आक्रोश व्यक्त गर्दै सिंहले बुधबार साँझ राजीनामा बुझाएका हुन्।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहले राजीनामा बुझाएका छन् । प्रकृयागत रुपमा उनले सभामुखलाई राजीनामा बुझाउनु पर्ने थियो ।
सिंहले कम्युनिस्ट नेतृत्वको सरकार असफल भएपछि कांग्रेसमा मुलुकका यावत समस्या समाधान खोज्ने चुनौती थपिएको अवस्थामा महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीमा उत्पन्न विवादले पार्टीलाई चुस्त र गतिशील बनाउन अवरोध गरेको बताएका छन् ।
सिंहले प्रदेश नम्बर २ मा उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारप्रति असहमति जनाएका हुन् ।