एमाले विभाजन भएमा माधव कुमार नेपाल समुह सरकारमा सहभागी हुने तयारी भएको छ । माधव नेपाललाई यस विषयमा देउवालाई विस्वासको मत दिने सांसद कतिपयबाट सुझाव आउन थालेका छन् भने कतिपयले त मन्त्री बनाईदिन आग्रह गरेको बुझिएको छ । मंगलबार मात्रै नेता नेपालले २२ सांसदसँग छलफल गरेका थिए ।
एमालेले विस्वासको मत देउवालाई दिने सांसद एमाले हुन नसक्ने निष्कर्ष निकाल्नुका साथै स्पष्टीकरण सोध्ने समेत निर्णय गरेपनि पत्र पठाएको छैन ।
अब केन्द्रीय समितिले कसरी उनीहरुमाथि कार्बाही गर्छ र उनीहरुले अध्यक्ष केपी ओलीले राजीनामा दिनु पर्ने भनी राखेको मागलाई कसरी संवोधन गर्छ त्यो आधारमा एमाले एकतावद्ध हुने नहुने टुंगो लाग्ने छ ।
एमाले एक नहुने अवस्था आए पार्टीगत रुपमा नयाँ विकल्प चाल्ने र सरकारमा केही सांसदलाई मन्त्री बनाउने माधव नेपाल निकट एक नेताको दाबी छ । तर यी सबै घटनाक्रम केही दिनमा निष्कर्षमा पुग्ने र पार्टी एक हुने नहुने कुरामा धेरै हदसम्म निर्भर रहेको उनको तर्क छ ।
यसैबीच, विगतमा ओली सरकारमा सहभागी भएर फेरी विस्वासको मत देउवाको पक्षमा दिए पनि जसपा महन्त ठाकुुर पक्षलाई तत्काल सरकारमा सहभागी नगराउने मुडमा प्रधानमन्त्री रहेको स्रोतको दाबी छ । एक काँग्रेस नेताका अनुसार पहिलो कारण चाँही जसपा भित्र उपेन्द्र यादव पक्ष आन्दोलनमा पनि सँगै रहेको र अहिले सरकारमा पनि सामेल हुने र ठाकुर पक्षसँग मिलिनसकेको अवस्थामा सो पक्षलाई सरकारमा सहभागी गराउन कठिन छ , दोस्रो चाँही ठाकुर पक्ष संसद विघटन गर्ने ओलीसँगै सरकारमा रहेका कारण तत्काल उनीहरुलाई मन्त्रीमण्डलमा सामेल गर्न नहुने सुझाव आएको छ ।
अब केही दिनमै मन्त्रीपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री देउवाले प्रचण्डलाई मन्त्रीहरुको नाम दिन भनेका छन् भने माधव नेपाल लाई पनि सरकारमा सामेल हुन आग्रह गरेका छन् ।
साझा कार्यक्रम बनाएर सहमतिका साथ डेढ बर्ष सत्ता चलाउने देउवाको तयारी छ । आन्दोलनमा सँगै रहेका गठबन्धनकै रुपमा सरकारमा पनि सहभागी हुने र अन्ततः आउने निर्वाचनमा पनि सहकार्य गर्ने सम्मको तयारीमा यी सत्तारुढ दलहरु रहेका छन् ।