प्रधानमन्त्री शेर बहादुर देउवाले संसदमा आजै विस्वासको मत लिने संभावना बढेको छ । यस सम्बन्धि निर्णय काँग्रेस संसदीय दलको बैठकमा छलफल हुनेछ ।
यसबारे आधिकारीक जानकारी सार्वजनिक नभए पनि देउवा आजै विस्वासको मत लिने तयारीमा रहेको स्रोतको दाबी छ ।
देउवा सर्वोच्च अदालतको परमादेशका आधारमा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले तीस दिन भित्र विस्वासको मत लिनु पर्ने अनिवार्य हुन्छ ।
विस्वासको मत नपाए संसद भंग गर्ने र निर्वाचनमा जाने विकल्प बाँकी रहने हुनाले देउवाको पक्षमा बहुमत पुर्याउन देउवा, प्रचण्ड, बाबुराम भट्टराई र उपेन्द्र यादव सक्रिय भएका छन् ।
आन्दोलनका बेला गठबन्धनमा रहेका एमाले माधव नेपाल समुहलाई पनि विस्वासको मत दिन नैतिक दबाब बढेको छ । सर्वोच्च अदालतमा सो समुहका २३ सांसदको हस्ताक्षरका कारण नै ओली प्रधानमन्त्रीबाट पदमुक्त भएर देउवा प्रधानमन्त्री बन्न सफल भएका थिए ।
प्रतिनिधि सभामा काँग्रेसको ६१, माओवादी ४९, जसपा यादव समुहमा १७ , जनमोर्चाको १ जना गरी कुल १२८ जना सरकारको पक्षमा रहेका छन् । भने माधव समुहका २३ जनाले विस्वासको मत दिएमा देउवाले १५१ जना सांसदको विस्वासको मत पाउने छन् । त्यसो भएमा उनी आगामी १७ महिना प्रधानमन्त्रीमा कायम रहन सक्ने छन् ।