२ साउन, काठमाडौं । आसन्न पार्टीको १४ औं महाधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा कोइराला परिवारका नेपाली कांग्रेसका तीन नेताले शनिबार लञ्च मिटिङ गरेका छन्।
महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइरालाबीच महाराजगञ्जस्थित महामन्त्री शशांकको निवासमा भएको लञ्च मिटिङ भएको हो ।
उक्त भेटमा राष्ट्रिय राजनीति, सरकारलाई विश्वासको मत दिलाउने र पार्टीको १४ औं महाधिवेशनका विषयमा कुराकानी भएको थियो ।
तीन नेताको छलफलमा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई कसरी विश्वासको मत दिलाउने भन्ने विषयमा केन्द्रित भएको छ। सरकारलाई विश्वासको मत दिलाउन लागि सक्रिय भएर लाग्ने निर्णय पनि उनीहरुले गरेका छन्।
राष्ट्रिय राजनीतिलाई कांग्रेसको नेतृत्वमा अगाडि बढाउँदै महाधिवेशनलाई सफल बनाउने विषयमा नेताहरुबीच छलफल भएको डा। शेखर कोइरालाका सहयोगी दिनेशचन्द्र थपलीयाले जानकारी दिए। १४ औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि उम्मेदवार चयन र अहिले देखिएको क्रियाशिल सदस्यता विवादका बारेमा तीन नेताबीच गहन छलफल भएको थियो ।
आसन्न महाधिवेशनमा कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयनको विषयमा पनि उनीहरुबीच छलफल भएको छ । कोइराला परिवारबाट शशांक र शेखर कोइरालाले नेतृत्व दाबी गर्दै आएका छन्। दुवै नेताले तयारी तीव्र बनाइरहेका बेला सुजाता कोइरालाले सहमति गरेर अगाडि बढ्ने प्रस्ताव गरेकी छन्। सुजाताले सहमति गरेर अगाडि बढ्नुपर्ने र नभए आफूले पनि दाबी गर्ने बताएकी हुन्।
कांग्रेसको संस्थापन पक्षका दर्जन बढी नेताले सभापतिका लागि आकांक्षा देखाउँदा कोइराला परिवारबाट शशांक र शेखरले दाबी प्रस्तुत गर्दै आएका छन्। शशांक र शेखरले सभापतिको दाबीबाट पछाडि नहट्ने अडान लिएका छन्। पार्टी सभापति देउवाले पुनः पार्टी सभापतिमा उम्मेदवारी दिने तयारी गरेपछि विपक्षी गठबन्धन एक भएर अगाडि बढ्नुपर्ने नेताहरुको मत रहेको छ। यसमा सहमति भने हुन सकेको छैन।
सभापति देउवाले दोहोरिने घोषणा गरेपछि संस्थापन पक्षकै उपसभापति विमलेन्द्र निधिले समेत दाबी प्रस्तुत गरेका छन्। निधिले सभापतिमा दाबी गरेपछि केही दिनअगाडि निधिसँगै शशांक कोइराला र प्रकाशमान सिंहबीच पटकपटक छलफल भएपनि बिना निष्कर्ष टुंगिएको थियो । आज तीन कोइराला नेताबीच सहमती गरेर सर्वसम्वत उमेद्वार बनाएर जाने बिषयमा छलफल भएको छ ।