२ साउन, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालबीच आज भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्ड आज दिउँसो नेता नेपाललाई भेट्न उहाँको नीजि निवास कोटेश्वर पुग्नुभएको हो । उहाँहरूबीच पछिल्लो राजनीतिक अवस्था र सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भएको नेपालनिकट स्रोतले इमेजखबरलाई जानकारी दिएको छ ।
भोलि प्रतिनिधिसभा बैठक बस्न लागेकाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको सन्दर्भमा पनि उहाँहरूबीचको भेटमा छलफल भएको छ ।
नेपालसँग केही दिनअघि प्रधानमन्त्री देउवाले पनि उहाँकै निवास गएर छलफल गर्नुभएको थियो । छलफलमा नेपालले प्रतिनिधिसभा बचाउन भए पनि सरकारलाई विश्वासको मत दिने आश्वासन दिनुभएको थियो ।
सर्वोच्च अदालतको आदेशमा संसद पुनर्स्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विगतमा सँगै रहेको कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्ष कसरी अघि बढ्ने भन्ने विषयमा अन्योलमा नै छन् । तर यो गठबन्धनका नेताहरुबीच द्विपक्षीय, बहुपक्षीय छलफल भइरहेको छ ।