उत्तरी छिमेकी मुलुक चीनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो दिनुका साथै खोप सहयोग वृद्धि समेत गरेको छ । ओली नेतृत्वको नेकपाको सरकार टिकाउन खुलेरै पहल गरेको चीनले नेकपा विभाजन नहोस् भनेर धेरै सक्रियता देखाएको थियो । त्यस बखत चीनीया राजदुत होउ यान्छी नेताहरुसँग बाक्सो भेटघाटमा व्यस्त भएकी थिईन् ।
त्यसका बाबजुद नेकपा विभाजित अदालतको आदेशसँगै भएपछि लामो रस्साकस्सीका बीच नेपाली काँग्रेसको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको छ । त्यस लगत्तै चीनीया राजदुत पुनः सक्रिय भएकी छन् ।
राजदुत यान्छीले आजै प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर औपचारीक बधाई दिएकी छन् भने नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेकी छन् ।
यस अघि नै चीनले १८ लाख जोड खोप अनुदानमा दिएको थियो । यो सँगै चीनले नेपाललाई ३४ लाख डोज खोप अनुदानमा दिने छ । यो भनेको कुनै पनि अन्तराष्ट्रिय समुदायले नेपाललाई दिएको सबै भन्दा ठूलो खोप सहयोग हो ।
साथै नेपालले ४० लाख डोज खोप चीनबाटै खरीद गरेर ल्याउन शुरु गरेको छ ।
राजदुत यान्छीले आजै एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत भेटेकी छन् ।
यो सक्रिय भेटघाटलाई राजनीतिक वृतमा महत्वका साथ हेरिएको छ ।