काठमाडौं, २७ असार । कहिले कडि कडाउ निर्णय गर्दै माधव नेपाल सहितकालाई साधारण सदस्य समेत नरहने गरी निलम्वन गर्ने , कहिले एकताका लागि भन्दै वार्ता र संवाद जारी राख्ने एमाले अध्यक्ष ओलीको कदम अझै सार्थक हुन सकेको छैन । ओली निकट एक नेताका अनुसार उनले सर्वोच्चको फैसला अगावै पार्टी एक भएको सन्देश दिने चाहना राखेका थिए । त्यही भएर निरन्तर दिनहुँ कार्यदलको बैठक मात्र बसेन, अध्यक्ष ओली र माधव नेपालबीच पनि वार्ता भयो ।
आज सकारात्मक समाचार सुन्न पाउनुहुन्छ भन्दै हिजो कार्यदलको बैठकबाट बाहिरीएका नेताहरुले पनि आज त्यस्तो सुखद समाचार ल्याउन सकेनन् । कारण कार्यदलमा थप प्रगति नहुनु ।
मोटामोटी सहमति भएको भन्ने प्रचारका बीच आज कार्यदलले उपलव्धि सार्वजनिक गर्न नसकेपछि ओलीले स्थायी समितिको बैठक बोलाए । अपरान्ह ४ बजे वालुवाटारमा बोलाईएको बैठकमा माधव नेपाल सहितका नेता नजाने लगभग निश्चित थियो । त्यही भएर सहमतिका लागि थप लचकता अपनाउने भन्दै त्यो बैठक पनि स्थगित गरिएको छ ।
सर्वोच्चको फैसला अगावै एमाले एक भएको सन्देश गए सर्वोच्चलाई सरकारको पक्षमा फैसला गर्न बल पुर्याउने ओलीको चाहना रहेको स्रोतको दाबी छ । यही सिलसिलामा आज ओलीको पक्ष र विपक्षी गठबन्धनको बिरुद्ध जुलुश समेत निकालिएको थियो ।
भोली सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने या निर्वाचनमा जानु उपयुक्त हुने मध्य एक फैसला गर्ने निश्चित छ । संवैधानिक ईजलाशमा समेत यस पटक एकै मत नरहेको बताईन्छ । त्यस्तो स्थितिमा कुनै पनि प्रकारको फैसला गर्न सक्ने अनुमान गर्न थालिएको छ ।
एमाले ओली समुह निकट नेताहरुको बुझाईएमा पार्टी एक भएको अवस्थामा सर्वोच्चले पनि चुनावमा जाओस् भनिदिए देखि सहज हुन सक्ने थियो ।
तर माधव नेपालले कार्यदलको छलफल सम्मलाई स्वीकृति दिए पनि अदालतको आदेश प्रभाव पर्ने गरी कुनै भाषा नलेख्ने र सहमति नगर्ने भन्ने कार्यदल सदस्यलाई कोटेश्वरमा संकेत दिएपछि आज कार्यदलले थप प्रगति गर्न नसकेको बुझिएको छ ।
आज साँझ सम्म प्रगति गर्न नसकेको कार्यदलले भोली दिनभरीमा त्यस्तो आकस्मिक सहमति गर्ने संभावना घटेको एक नेताको दाबी छ । तर विहान कुनै प्रयास भयो र त्यो सफल रह्यो भने सुखद नै हुन्छ, उनले भने ।