निजी अस्पतालले पैसा तिर्न नसकेका जुम्ल्याहा बच्चाकी सुत्केरी आमालाई चार दिन देखि बन्धक बनायो

निजी अस्पतालले पैसा तिर्न नसकेका जुम्ल्याहा बच्चाकी सुत्केरी आमालाई चार दिन देखि बन्धक बनायो

  • शुक्रबार, असार २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

जनकपुर २५ असार । बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ । अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्हारसुसार र सहजरुपमा आमाको न्यानो काखमा हुर्कन पाउन समस्या उत्पन्न भएको छ ।

जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि बन्धक बनेकी हुन् । ब्यथा लागेपछि यही असार १७ गते खातुन अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी खातुनलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चबापत रु एक लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनदेखि बन्धक बनेकी छन् ।

अस्पताल प्रशासनले उनलाई जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको छ । खातुनका ३१ वर्षीय श्रीमान् मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न सकेको छैनन् । लकडाउनका कारण देखाएर ऋण नपाउँदा उनी अस्पतालमा चार दिनदेखि घेरिएको नदाफले बताउनुभयो ।

दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका नदाफको न आफ्नो घर छ, न त काम । उहाँले भन्नुभयोे, “दैनिक ज्याला मजदूरी गरी हातमुख जोर्ने गरेको हामी, लामो समयसम्म भएको लकडाउनका कारण काम नपाएर छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको उपचार खर्च कसरी जुटाऔं रु” उहाँले उपचार खर्च तिर्न नसक्दा आफ्ना श्रीमती र नवजात शिशु घर ल्याउनका लागि भनी चारपाँच दिनदेखि गाउँमा चारैतिर चन्दा सङ्कलन गरिरहेको बताउनुभयो ।

नदाफले आज बिहान राससको कार्यालयमा आएर उपचार खर्च जुटाई दिनका लागि गुहार माग्नुभयो । उहाँले भन्नुभयो, “सबैतिर गाउँमा डुलेर श्रीमती र नवजात शिशुलाई अस्पतालको खर्च जुटाउनका लागि चन्दा मागें, अहिले रु ५० हजार जति सङ्कलन भयो तर अझ रु ६० हजार बाँकी छ । तपार्इंको सञ्चारमाध्यमबाट उपचार खर्च जुटाउनका लागि सम्पूर्ण मनकारीसँग गुहार मागेको छु ।”

उता अस्पताललाई तिर्नुपर्ने बिल बढेकोबढ्यै छ । यता नदाफ भने पैसाको खोजीमा गाउँमा भौँतारिइरहनुभएको छ । “एउटा झोला र कापी लिएर हिँडेको छु”, दुःख सुनाउँदै उहाँले भन्नुभयो, “कोरोनाको बेला घर नआउनुस् भन्दै कसैले चाहिँ टाढैबाट झोलामा पैसा हाल्दिनुहुन्छ । सबैको नाम र दिएको पैसा कापीमा टिपेको छु ।” नदाफले बसोबास गर्ने बस्तीमा पनि प्रायः सबै गरीब नै छन् तर, सकेको सबैले सहयोग गरेका छन् । प्रतिघर रु २० देखि ५०० सम्म सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । “यसरी कहिलेसम्म उपचार खर्च तिर्ने पैसा जम्मा हुने हो, पत्तो छैन”, मलिन अनुहारमा उहाँले दुखेसो पोख्नुभयो ।

शल्यक्रिया र औषधिका लागि ऋण खोजेर उहाँले करीब करीब रु ५० हजार उपचारमा रित्याइसक्नुभएको छ । उहाँले भन्नुभयो, “अब दुई रुपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैन ।” यसरी श्रीमती अस्पतालमा छन्, श्रीमान् पैसाको खोजीमा गाउँ टोलमा भौँतारिँदै छन् । समीरले कुनै मनकारी मनले उपचार खर्चका लागि सहयोग गर्न चाहे ९८१८०२६४४० मा सम्पर्क गर्न आग्रह गर्नुभयो । बच्चा र आमाको स्वास्थ्य अवस्था अहिलेसम्म ठीक छ । तर उपचार खर्च चाँडो जुटाउन नसके गाह्रो हुनसक्ने उहाँको दुःखेसो छ ।

अस्पताल प्रशासनले बिरामीको आर्थिक अवस्था हेरेर केही छुट गर्न सक्ने तर सबै उपचार खर्च मिनाहा गर्न नसकिने बताएको छ । अस्पताल प्रशासनका अनुसार दुवै बच्चालाई आइसियुमा राखेर उपचार गर्नुपरेकाले खर्च बढेको हो । अस्पतालले गर्नसक्ने जति सक्दो छुट गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी