केही दिन अघि १० औँ महाधिवेशन आयोजक कमिटि भंग गरेर ७५ साल जेष्ठ २ गतेकै केन्द्रीय कमिटिलाई आधार मानेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष बैठक राखे । तर त्यो बैठकमा माधव नेपाल समुह सहभागी भएन । तपाईहरुले भने अनुसार जेठ २ मै फर्कियौँ त किन बैठकमा नआउनु भएको भनेर ओलीले माधव कुमार नेपाललाई फोन गरे लगातार दुई दिन सम्म । माधव नेपालले फोन त उठाए तर बैठकमा आउन र भेटवार्ता गर्न मानेनन् ।
त्यसपछि दुई दिनको समय दिएर ओलीले बैठकबाट काँग्रेस सभापति शेर बहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका २३ सांसदलाई हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दियो ।
त्यो अल्टिमेटम पनि माधव समुहले टेरेन । त्यसपछि माधव नेपाललाई हैसियत नभएको, हस्ताक्षर फिर्ता नलिने एमाले हुनै नसक्ने भन्दै अदालतको फैसला अघि नै हस्ताक्षर फिर्ता हुनु पर्ने पुनः ओलीले अडान राखे ।
यसबीचमा दोस्रो तहका नेताहरुको कसरतमा पुनः कार्यदल सक्रिय बन्यो । कार्यदलको पटक पटकको बैठकपछि सहमति नजिक पुगिएको भन्ने नेताहरुले सार्वजनिक अभिव्यक्ति दिए ।
त्यसपछि कार्यदल सदस्यहरुले बुधबार साँझ सम्ममा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको उपस्थितिमा सहमतिको खाका तयार हुने अपेक्षा गरेर दुई नेताबीच भेटघाटको चाँजो मिलाएका थिए मेरियट होटलमा ।
स्मरणीय छ कि मेरियट होटलमै दुई नेताबीच केही समय अघि पनि बार्ता भएको थियो ।
दुई नेताबीच साँझ सात बजेदेखि भएको छलफलमा प्रधानमन्त्री ओलीले निरन्तर अदालतमा भएको हस्ताक्षर फिर्ता निशर्त रुपमा लिनु पर्ने भनिरहे । तर नेपालले निशर्त हस्ताक्षर फिर्ता लिन नसकिने अडान राखे । बरु नेपालले पार्टीको माथिदेखि तल सम्म सबै नेता कार्यकर्तालाई भेदभाव गर्न नहुने, सबै नेता कार्यकर्ताको व्यवस्थापन हुनु पर्ने अडान राखेको र ओलीले त्यस कुरामा चासो नराखेपछि सहमति नभएको स्रोतको दाबी छ ।
दुबै नेता सहमतिमा नपुगेपछि कार्यदल र दोस्रो तहका नेताको दौडधुप र प्रयास पनि सफल हुन सकेन । अब अर्को छलफल र सहमति कहिले हुने हो टुंगो छैन । एक नेताले भने ।