चीनीया राष्ट्रपति सि जिन पिंगले नेपाली नेताहरु सम्मिलित जुम बैठकमा नेताहरुले जनताको आवाज सुन्नु पर्ने सन्देश दिएका छन् ।
१६० देशका ५ सय बढी नेताहरुलाई भिडियोमा संवोधन गर्दै राष्ट्रपति सि ले देशको नेतृत्व गर्ने नेताहरुले जनताको आवाजलाई सुन्नु पर्नेमा जोड दिएका हुन् ।
चीनीया कम्युनिष्ट पार्टीको स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा चीनीया कम्युनिष्ट पार्टीले यो बिशेष भिडियो सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलनको नारा जनताको समृद्धिः राजनीतिक दलहरुको दायित्व शीर्षक दिएर गरिएको थियो ।
सी विभिन्न मुलुकबीचको इतिहास, संस्कृति, प्रणाली, विकास स्तर फरक फरक भए पनि शान्ति, विकास, न्याय, निष्पक्ष, लोकतन्त्र, स्वतन्त्रता समेत समस्त मानव जातिको साझा मूल्यबारे विभिन्न मुलुकका जनताको साझा लक्ष्य रहेको बताए । सीले राजनीतिक दल मानव जातिको साझा मूल्यको वकालतकर्ता हुनु पर्ने उल्लेख गरे । साथै, मूल्यलाई व्यवहारमा उतार्ने बाटोबारे विभिन्न मुलुकको छनोटको सम्मान गरी समस्त मानव जातिको साझा मूल्यलाई स्वदेशका जनताको हितलाई व्यवहारमा उतार्ने अभ्यासमा पुर्याउनुपर्ने सीले बताएका थिए ।
सीले विकास विश्वका केही मुलुकहरुको विशेष अधिकार नभएको उल्लेख गर्दै राजनीतिक पार्टीले विभिन्न मुलुकबीचको सहयोगलाई मजबुत बनाउँदै जानुपर्ने बताए । उनले भने,‘विश्व विकासको निष्पक्षता, प्रभावकारिता, र तालमेललाई उकास्नुपर्छ । साथै, प्रविधिले नाकाबन्दी, वैज्ञानिक प्रविधिको अन्तर, विकासबाट अलग्याउने कुरामा संयुक्त विरोध गर्नुपर्छ ।’ सीले राजनीतिक दलहरूले सहकार्यलाई सुदृढ पार्ने जिम्मेवारी वहन र विश्वव्यापी जोखिम र चुनौतीहरू सामना गर्न मिलेर काम गर्नु पर्ने बताए ।
उनले सम्बोधनको क्रममा नयाँ कोरोना भाइरस महामारीको सामना गर्नुपर्दा विभिन्न देशका राजनीतिक दलहरूले सहकार्यमा गर्नुपर्ने र महामारीको राजनीतिकरणको विरोध गर्नुपर्ने बताए । उनले मानव स्वास्थ्य समुदायको निर्माणलाई संयुक्त रुपमा अघि बढाउनुपर्ने भन्दै आतंकवाद लगायत अन्य क्षेत्रमा मानव जातिको शत्रुको सामनामा राजनीतिक दलहरूले हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए ।
चीनले विकास र समृद्धिमा आफ्नै मोडेल अपनाएको भन्दै यही मोडेल लागू गर्नु पर्छ भनेर कुनै पनि देशलाई नभन्ने र हरेक देशका नागरिकले त्यो देशको मोडल छान्नु पर्नेमा सि को जोड छ ।
सो भिडियो सम्मेलनमा नेपालका शीर्ष नेताहरु सहित अन्य देशका नेता एवं १० हजार राजनीतिकर्मीहरु सहभागी भएका थिए ।
चीनले कुनै पनि देशमा आफ्नो प्रभुत्व नचाहेको सि ले स्पष्ट पारे ।