२१ असार, काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि जवाफी बहस सकिएको छ । जवाफि बहस सकिएसँगै रिटमाथिको सुनुवाइ अन्तिम चरणमा पुगेको छ।
आइतबारबाट सुरु भएको जवाफी बहस आज सकिएको हो। आज आजका लाथि जवाफी बहसको २ घण्टा २ मिनेट समय बाँकी थियो । आज तीन वरिष्ठ अधिवक्ताले बहस गरेपछि जवाफी बहसको समय सकिएको हो ।
आज निवेदकको पक्षबाट बरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्री बहादुर कार्की र शम्भु थापाले बहस गरे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईका संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सुनुवाइ भइरहेको छ।
अब एमिकस क्युरीको बहस भने बाँकी छ । एमिकस क्युरीका लागि दुई घण्टा समय तोकिएको छ। एमिकस क्युरीमा नेपाल बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल तथा सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी छन् ।
सभामुखका तर्फबाट बहस सकिएपछि आइतबारदेखि रिट निवेदनका तर्फबाट जवाफी बहस सुरु भएको थियो । रिट निवेदकका तर्फबाट जवाफी बहसका लागि तीन घण्टा समय निर्धारण गरिएको थियो । एक घण्टा आइतबार नै सकिएको थियो। बाकी समय आजका लागि तय भएकोमा आज बहस सकिएको हो ।