असार १९, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरूले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता गर्न अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन नमान्ने भएका छन् ।
सो पक्षको आज बसेको बैठकले अध्यक्ष ओलीले दिएको अल्टिमेटम मान्य नभएको निष्कर्ष निकालेको हो। नेपाल-खनाल पक्षका २३ सांसदहरूले सर्वोच्च अदालतमा देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर भएको मुद्दामा हस्ताक्षर गरेका थिए । उक्त हस्ताक्षर सोमबारभित्र फिर्ता लिएको घोषणा गर्न अध्यक्ष ओलीले शुक्रबार अल्टिमेटम दिएका थिए ।
ओलीको अल्टिमेटमपछि आज बसेको नेपाल खनाल पक्षका सांसदहरूले छलफल गरेका थिए । उक्त छलफलमा ओलीले जारी गरेको अल्टिमेटम अस्वीकार गर्दै हस्ताक्षर कुनै हालतमा फिर्ता नलिने निष्कर्ष निस्किएको नेता जीवनराम श्रेष्ठले जानकारी दिएका छन् ।
अवैधानिक कमिटीले दिएको अल्टिमेटमको अर्थ नभएको निश्कर्ष निकाल्दै बैठकले संविधान, लोकतन्त्र र संसद् जीवित राख्नका लागि गरिएको हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले २०७७ फागुन २३ गते गरेको फैसलाअनुसारको बैठक बसेर गरिएको निर्णय मात्रै आफुहरुलाई मान्य हुने पनि उनीहरुको भनाई छ ।
बैठबमा माधवकुमार नेपालले शुक्रबार अध्यक्ष ओलीसँग भएको छलफलबारे जानकारी गराएका थिए । मेलमिलापको लागि भनेर अध्यक्ष ओलीले नेता नेपाललाईस फोन गरेको पनि बैठकमा बताईएको थियो ।
एकता गर्ने भए बालुवाटारमा जारी १३ केन्द्रीय कमिटी बैठक रोक्न र ९ औं महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक बोलाउने लगायतका सहमति गरौं भनेर ओलीलाई जवाफ दिएको नेपालले सांसदहरूलाई बताएका छन् । ओलीको आह्वानमा उता एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । तर नेपाल समूहका नेताहरु सहभागी छैनन् ।