१५ असार, काठमाडौं । एमाले भित्रको विवाद उत्कर्षमै रहेका बेला ओली समुहले माधव समुहभित्र फुट ल्याउने प्रयास शुरु गरेको छ । एमाले स्थायी समितिको बैठकले बुधबार दशौँ महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । जुन बैठकमा माधव नेपाल सहित ११ जना नेता बाहेक अरु माधव समुहका नेताहरुलाई पनि बैठकमा बोलाईएको छ ।
बुधबार विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत एघार जनालाई भने बोलाइएको छैन । जेठ १० मै ती नेताहरुलाई ओलीले साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेका थिए ।
बैठकले १० औँ महाधिवेशन आयोजक कमिटि विघटन गर्दै केन्द्रीय परिषद् विस्तार गर्ने निर्णय लिने संभावना छ । परिषद्मा माओवादीबाट एमाले प्रवेश गरेका केही नेतालाई थप्ने बुझिएको छ ।
गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी बनाए पनि सर्वोच्च अदालतले मान्यता नदिएका कारण यो विघटन गर्न लागिएको हो ।