१४ असार, काठमाडौं । भोलि मंगलवारदेखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । आज बिहान बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले भोलीबाट जोरविजोरमा सार्वजनिक बस चल्न दिने निर्णय गरेको हो ।
अघिल्लो साता थपेको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।जारी निषेधाज्ञालाई खुकुलो पार्दै जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय बैठकले गरेको छ। उक्त निर्णयसँगै बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सार्वजनिक बस संचालनमा आउनेछन्।
वैशाख १६ गतेयता सार्वजनिक सवारी साधन बन्द छन्। पछिल्लो निर्णयसँगै मंगलबारदेखि काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढी क्षमता भएका सवारी साधन स्वास्थ्य मापदण्ड अपनाएर चल्न पाउनेछन् । माइक्रो तथा टेम्पोजस्ता साना सवारी साधनको हकमा लगाइएको रोक भने कायमै छ ।
यसअघि सरकारले असार १७ गतेदेखि आन्तरिक हवाइ उडान पनि खोल्ने निर्णय गरिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक यातायात पनि सञ्चालन गर्न पाउनुपर्ने माग यातायात व्यवसायीहरूले राखेका थिए।
सार्वजनिक यातायात सञ्चालन गर्दा चालक , सहचालक र यात्रुले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ।
यस्तै दैनिक उपभोग्य बस्तु तथा खाद्यान्न पसल पनि बिहानदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएको उनले बताए । यस्तै अन्य पसलहरूको हकमा पनि बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएको छ ।