एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले स्वतन्त्र बस्ने भन्दै संसद सचिवालयमा पत्र पठाएका छन् । भुषालले पार्टी परित्याग गरेपछि एमाले भित्र तरंग पैदा भएको छ । भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाउँदै नेकपाबाट निर्वाचित भएकाले आफू स्वतन्त्र रुपमा राष्ट्रिय सभा सदस्यको हैसियतमा रहन चाहेको बताएका छन् ।
भुसालले संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा आफू तत्कालीन नेकपाबाट उम्मेदवार बनि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको सदस्य भएको र सर्वोच्चको फागुन २३ को फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको अवस्थामा आफू स्वतन्त्र भूमिकामा रहन चाहेको उल्लेख छ ।
भुसालले आफूलाई राष्ट्रियसभामा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्न र सम्बन्धित सबैलाई यसको आवश्यक जानकारी एवम् निर्देशन दिन पनि अनुरोध गरेका छन् । उनले आफूले पाउने पारिश्रमिक र अन्य सेवा सुविधाबाट लेबी वा अन्य कुनै पनि दलको खातामा जम्मा नगरिदिन पनि संसदको लेखा शाखालाई जानकारी गराइदिन भनेका छन् ।
उनी एमाले भित्र माधव समुहका स्थायी समिति सदस्य थिए ।