असार १२, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले कसैलाई प्रधानमन्त्री बन्न हतारो नभएको बताएका छन् । पत्रकारहरुसँगको अन्तरक्रियामा आफूहरुको लडाइँ प्रधानमन्त्रीका लागि नभएर संविधान र लोकतन्त्र रक्षाका लागि भएको बताए ।
हामीले नै शेरबहादुर देउवाजीलाई तपाईं उभिन पर्यो भनेको हो यो पटकलाई । यहाँ प्रधानमन्त्रीको हतारो कसैलाई छैन । हाम्रो लडाइँ प्रधानमन्त्रीका लागि होइन उनले भने, यो पटक हामी कोही पनि प्रधानमन्त्री हुन पाए, सरकार छिटो बनाउन पाए भन्ने हैन ।’
संविधानमाथि निर्मम ढंगले प्रहार भइराखेको भन्दै उनले देशलाई अराजकता, संविधानहिनताको भूमिरीमा हाल्ने दुष्प्रयास भइराखेको बताए । त्यसबाट यो संविधानको रक्षा गर्नैपर्ने देखिएको उनले बताए ।
मुद्दामा आधारित भएर गठबन्धन बनेको भन्दै प्रचण्डले लामो समयसम्म अघि बढ्ने दाबी गरे । ‘यो गठबन्धन मुद्दामा आधारित भएर बनाएको हो । कुनै स्वार्थवस् हैन । अब यो संविधान कसैले दायाँबायाँ बनाउन सक्दैन भन्ने परिस्थिति बनाउने हो,’ उनले भने ।
सर्वोच्च अदालतमा देउवाको समर्थनमा बहुमत सांसदले हस्ताक्षर बुझाएको र लोकतान्त्रिक मान्यता अनुसार फैसला हुँदा भने देउवा प्रधानमन्त्री बन्ने उनको दाबी छ। १४९ सांसदको हस्ताक्षर र १४६ सांसदको रिट सर्वोच्चमा दर्ता भएकाले देउवा प्रधानमन्त्री बन्ने प्रचण्डको तर्क छ।
प्रधानमन्त्री केपी ओलीले सेटिङमा अदालतबाट फैसला भएको भन्दै अदालतलाई धम्क्याउने काम गरेको आरोप लगाउँदै उनले अब देउवा प्रधानमन्त्री बन्ने बताएका हुन्। मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदा प्रधानमन्त्री ओलीले अदालत सेटिङमा चलेको आरोप लगाएको भन्दै प्रचण्डले आपत्ति जनाएका हुन्।
प्रचण्डले विपक्षी गठबन्धनमा सहभागी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल एमालेको झन् ठूलो नेता बनेको दाबी गरेका छन्। एमालेको रियल लिडर नेपाल भएको प्रचण्डको तर्क छ। प्रचण्डले प्रधानमन्त्री केपी ओली खस्किँदै खस्किँदै गएको र उनलाई हेर्दा लाज लाग्न थालेको बताए।