काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राष्ट्रपतिलाई चिथोर्न प्रतिस्पर्धा भईरहेको दाबी गरेका छन् ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाशित गरेका पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको मन्त्री पदमा रहँदा सार्वजनिक कार्यक्रममा दिएका मन्तव्यहरूको संकलन समेटिएको सहित विभिन्न चार पुस्तक विमोचन गर्दै विपक्षी नेताहरू बीच राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलिरहेको दाबी गरे ।
राष्ट्रपतिको भूमिकालाई लिएर अदालत र सार्वजनिक रुपमा पनि आलोचना भईरहेका बेला प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
रिसाएको बिरालाले खाँबो चिथोर्छ, अहिले राष्ट्रपतिलाई चिथोर्ने काम भईरहेको छ उनले भने ।
केही भूतपूर्वहरुले राष्ट्रपति भन्दा राजा राम्रो भनेको पनि सुनियो, त्यसलाई पनि लोकतन्त्रको दुहाई दिने ? प्रधानमन्त्रीले भने ।
त्यस्तै, प्रधानमन्त्री ओलीले अदालतलाई राजनीतिक विवादको निरुपण गर्ने थलो बनाउन खोजेको बताएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित १ सय ४६ प्रतिनिधिसभा सदस्य सर्वोच्च अदालत गएका थिए । उनीहरूको रिट निवेदनमाथि बुधबारदेखि निरन्तर अन्तिम सुनुवाइ भइरहेको छ । उक्त रिटमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरिएको छ । प्रधानमन्त्रीले यसमाथि पनि टिप्पणी गर्दै प्रधानमन्त्री छान्ने ठाँउ पनि अदालतलाई बनाउन खोजिएको भन्दै आलोचना गरे ।
ओलीले मन्त्रीहरू हटाउने निर्णयमा सेटिङ भएको आशंका गरेका छन् ।
ुमन्त्रीहरू सबै हटाइदिएर प्रधानमन्त्रीलाई काम गर्न अप्ठ्यारो भयो खुच्चिङ पर्यो भन्ने होला,ु प्रतिनिधिसभा विघटनपछि जेठ २१ र २७ मा नियुक्त मन्त्रीहरूलाई हटाउने सर्वोच्चको आदेश लक्षित गरेर ओलीले भने, ुकसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि एउटा गजबको छ । धादिङमा अघिल्लै दिन भने पछि नियुक्त गरिएका मन्त्रीहरू भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु ।
प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति प्रचण्डप्रति लक्षित थियो ।