काठमाडौँ असार ९ । पाँच दलीय विपक्षी गठबन्धनले संविधान र लोकतन्त्रको रक्षाका लागि जनपरिचालनका कार्यक्रम अघि बढाउने भएको छ ।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको गठबन्धको बैठकले प्रतिगमनका विरुद्ध जनपरिचालनको कार्यक्रम अगाडि बढाउने निर्णय लिएको हो ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस सुरु भए पनि संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अगाडि बढाउने निर्णय भएको बताए ।
नेता श्रेष्ठले कोभिड–१९ को दोस्रो लहरको संक्रमण कम हुँदै गएको र स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतिगमनविरोधी जनपरिचालनका कार्यक्रम गरिने बताए ।
बुधबारको बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरू उपस्थित थिए । गठबन्धन बैठकमा प्रदेश २ र गण्डकी प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ ।