असार ९ काठमाडौँ । सरकार गठनका लागि १ सय ४९ सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी गरेपछि संसदमा मतदान गर्न किन नभिएको भन्दै बरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विरुद्ध कडा अभिव्यक्ति दिएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिटमा बहस गर्दै संवैधानिक इजलासमा जारी सुनुवाइमा थापाले कुन सांसदले प्रधानमन्त्रीको विश्वासको प्रस्तावमा भोट हाल्न पाउने र कसले नपाउने भनेर छुट्याउने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै सांसदहरू लिखित रूपमा नै गएर १ सय ४९ को हस्ताक्षरसहित दाबा गरिसकेपछि एमालेका २६ जनाले, माओवादीका यतिले भोट हाल्न पाउँदैन भन्ने तपाईं को हो ? भन्दै प्रश्न गरेका छन् ।
संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि एमालेका २६, जसपाका १२, माओवादी र कांग्रेसका सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए । त्यसलाई अस्वीकार गर्दै राष्ट्रपति मध्यरातमा संसद भंग गरिदिएकी थिईन् ।
सांसदहरूलाई मतदान गर्न नदिने राष्ट्रपति को हो ? भन्दै उनले राष्ट्रपतिलाई पटक पटक प्रश्न गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वरिष्ठ अधिवक्ताहरू महादेवप्रसाद यादव र बद्रीबहादुर कार्कीलाई प्रधानमन्त्रीमा केपी शर्मा ओलीले सांसदको रूपमा दाबी गर्न पाउने कि नपाउने भनेर प्रश्न गरेका थिए । त्यस प्रश्नको जवाफ दिँदै थापाले भाग्यमा भए ओली फेरी पनि प्रधानमन्त्री हुन सक्ने बताएका थिए ।
संवैधानिक ईजलाशमा भोली पनि बहस जारी रहनेछ ।