काठमाडौँ, ८ असार । सरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् । स्वास्थ्यको पूर्ण पालना हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने र उपयुक्त उडान तालिका र मिति पर्यटन मन्त्रालयले तय गर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुधबार मन्त्रालय र सरोकारवालाहरुसँग बैठक गरी आन्तरिक उडान कहिलेदेखि गर्ने भन्ने मिति तय गरिने जानकारी दिए ।
अन्तरराष्ट्रियतर्फ पनि नियमित हवाई उडान सङख्या थप गर्ने निर्णय भएको छ । सरकारले दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको हो। हाल सातामा एक/एक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ । जसअनुसार काठमाडौं-दाहा सातामा ४ उडान हुनेछन् ।
काठमाडौँ–दोहा गन्तव्यमा दुबै मुलुकका समान दुई वायुसेवा कम्पनीले सातामा चार उडान गर्नेछन । काठमाडौँ–स्तानबुलमा साताको दुई, काठमाडौँ–दुबईमा सातामा चार उडान हुने जनाइएको छ ।
काठमाडौँ–दमाम गन्तव्यमा दुई, काठमाडौँ–कुवेतमा साताको दुई , काठमाडौँ–मस्कटमा साताको एक र मलेसियामा साताको चार उडान सञ्चालन गरिनेछ । त्यस्तै दक्षिण कोरिया र जापानमा समान एक उडान तथा काठमाडौँ–छेन्दु र ग्वाङजाओ गन्तव्यमा साताको समान एक–एक उडान सञ्चालन हुनेछ ।