नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टी छाडेर एमाले प्रवेश गरेका जनप्रतिनिधिहरुमाथि भएको कार्बाही अनुमोदन भएको छ । आज बिहान भर्चुअल माध्यमबाट बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ समेत गरेका थिए ।
भर्चुअल विधिमा भएको बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका साथै केही केन्द्रीय नेताहरुले समेत पार्टी छाडेकाले उनीहरुलाई कारवाही गरेको हो ।
पार्टीले कार्बाही गरेको पत्र निर्वाचन आयोगमा बुझाए पनि कार्बाही गर्नु अघि आयोगले केन्द्रीय समितिको निर्णय खोजेपछि बैठकले यसलाई पारित गरेको हो ।
माओवादी केन्द्र छाडेका सांसदहरुमाथिको कार्बाहीको विवरण बुझाए पनि आयोगले दल त्याग सम्बन्धि सूचना जारी नगरेपछि माओवादी नेताहरु यस अघि आयोगमै पुगेर ध्यानाकर्षण गराएका थिए ।